एक्सनमा प्रधानमन्त्रीः आफ्नै कार्यालयको पुनर्संरचना गर्दै

साझा कथा । राष्ट्रको नाममा सम्बोधन गरेकै केही दिनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो प्रतिवद्धता कार्यान्वयन गर्ने भएका छन् ।

मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री कार्यालयको संरचना परिवर्तन गर्ने घोषणा गरेका थिए । सम्बोधनमा उनले भनेका थिए – ‘सिंगो राज्यका लागि त्यो एउटा संकेत र सन्देश हुनेछ ।’ त्यस लगत्तै बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री कार्यालयको पुनर्संरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत समेत गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले ६ दर्जन कर्मचारी प्रधानमन्त्री कार्यालयका लागि आवश्यक नरहेको भन्दै त्यसलाई चुस्तदुरुस्त बनाउन लागेको बताएका हुन् । संरचना बदल्ने प्रक्रियाबारे विस्तृत खबर बाहिर नआए पनि गृहकार्य भइरहेको सचिवालय निकट स्रोतको भनाइ छ । कोको कर्मचारी कटौति हुँदैछन् भन्ने विषयमा स्पष्ट जानकारी भने प्राप्त भएको छैन । स्रोतका अनुसार कटौति भएका दरबन्दीका कर्मचारीलाई अन्य निकायमा मिलान गर्नेगरि तयारी गरिएको छ । प्रधानमन्त्री कार्यालयमा हाल २३४ जना कर्मचारी कार्यरत छन् भने ६८ जना कर्मचारी दरबन्दी घटाउने स्रोतको भनाइ छ ।

सम्बोधनमा प्रधानमन्त्री प्रचण्डले पूर्व निर्धारित र अपरिहार्य बाहेकका कुनै पनि कार्यक्रममा आफू नजाने बताउँदै नीति तथा कार्यक्रम र बजेटको तयारी एवं विकास र सुशासनमा आफ्नो समय खर्च गर्ने समेत बताएका थिए । सम्बोधनमा उनले मन्त्रीहरु समेत फेरबदल गर्ने संकेत गरेका थिए । तर, गठबन्धनका दलहरुले मन्त्री बदल्न नहुने दबाब दिदै आएका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?