साझा कथा । ललितपुरको बालकुमारीस्थित रिङ्गरोडमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडिमा युवाहरुले आगजनी गरेका छन् ।
रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीले प्रयोग गर्दै आएका बा २ झ ५८६१ नम्बरको गाडीमा आजगनी गरेका हुन् । उनीहरुले गाडिमा रहेका मन्त्री ज्वाला र उनका पर्सनल सेक्युरिटी अफिसर (पीएसओ)लाई गाडिबाट आरालेर गाडिमा आगजनी गरेको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए । प्रदर्शनकारीहरुले सुरुमा गाडिको हावा खुस्काएका थिए । त्यस लगत्तै उनीहरुले गाडीमा आगजनी गरेका हुन् ।
ईपीएस आवेदन फाराम भर्न नपाएको भन्दै युवाहरूले आन्दोलन गरेका थिए । उनीहरुले सरकार विरुद्ध नारावाजी गर्दै अहिले पनि सडक अवरुद्ध गरिरहेका छन् । आगजनी गरेको क्षेत्रमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदर्शनकारीले सो क्षेत्रमा सञ्चालन हुने सबै यातायातहरु अवरुद्ध गरेका छन् । अहिले बालकुमारी क्षेत्र तनावग्रस्त छ ।