साझा कथा । गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते अर्थात आज ‘तमु ल्होसार’ पर्व मनाउने चलन रहेको छ । यसपटक तमु गुरुङ समुदायले ’हि ल्हो’ (बिरालो वर्ग) को बिदाइ गर्दै गिद्ध (मि-ल्हो) को स्वागत गरेर भव्य रूपमा मनाउने छन् । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् ।
यस दिनमा आफन्त, कुलकुटुम्बसँग भेटघाटका साथै भोजभतेर खुवाउने तथा शुभकामना आदान प्रदान गर्ने चलन छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।
यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व सर्वाधिक मानिने गरेको छ ।