साझा कथा । करण केसीको विस्फोटक ब्याटिङक प्रदर्शन सँगै नेपाल प्रो क्लब च्याम्पियनसिपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पुलिस क्लबले वीरगञ्जस्थित नारायणी रंगशालामा शनिबार खेलिएको फाइनल खेलमा पर्सा क्लब–११ लाई १ सय रनको फराकिलो अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।
टस जिती पहिले ब्याटिङको निर्णय लिएको पुलिस क्लबले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ४५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पर्साले भने ११ ओभरमै अलआउट हुनुअघि ४५ रनमात्र बनाउन सक्यो ।
पुलिसका लागि करण केसीले विस्फोटक १७ बलमा ४० रन बनाएका थिए भने अर्जुन साउदले २६, शंकर रानाले १९, दिलिप नाथले १७ र कप्तान आसिफ सेखले १६ रन बनाएका थिए ।
पर्साका सिफउल्लाह अन्सारी र पवर्न सर्राफले समान २ विकेट लिए । सन्दीप लामिछानेको कप्तानीमा पर्साको टोली फाइनलसम्म पुगेको थियो । तर, शनिबारको फाइनल खेल भने सन्दीपले खेलेका थिएनन् ।