जाजरकोटमा भूकम्पपछिको दुर्दशाः चिसोका कारण ३५ जनाले ज्यान गुमाए

साझा कथा । जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरु मध्ये चिसोका कारण हालसम्म मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

भूकम्पपछि व्यवस्थित बसोबास र उपयुक्त खानपिन नभएका कारण जाजरकोट र रुकुम पश्चिममा गरि कुल ३५ जनाको मृत्यु भएको हो । जसमध्ये जाजरकोटमा ३० जना र रुकुम पश्चिममा ५ जना रहेका छन् । मृत्यु हुनेहरु अधिकांश निमोनिया र दमका रोगीहरु छन् । जसमध्ये जेष्ठ नागरिक र सुत्केरीहरुको संख्या बढी छ । समयमै अस्थायी आवास निर्माण हुन नसक्दा मृतकको संख्या बढ्दै गएको हो । अधिकांश भूकम्प प्रभावितहरु यो चिसो मौसममा पनि त्रिपालमै रात कटाउन बाध्य छन् ।

त्रिपालमै बस्दै आएकी कुशे गाउँपालिका ९, चौराठाकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीले अत्याधिक चिसोका कारण बुधबार ज्यान गुमाउनुपर्यो । उनी मंसिर १७ गते सुत्केरी भएकी थिइन् । ‘सुत्केरी भएपछि विरामी भएकी उनी श्रीमान्सहित त्रिपालमा बस्दै आएकी थिइन्’ कल्पनाका श्रीमान् गोपे सुनारले भने, ‘चिसोले मुख र जीउ सुन्निएको थियो, ठीक भइहाल्ला भनेर गाउँघरकै औषधि गर्न तिर लाग्यौं, मृत्यु नै होला भन्ने सोचेको थिइन ।’ खर्च अभावका कारण सुविधासम्पन्न अस्पतालमा लैजान नसकेको र झारफुकमा लागेकोले यो अवस्था भोग्नु परेको उनको भनाइ छ ।

भूकम्प प्रभावित क्षेत्रमा चिसोले श्वासप्रश्वास, निमोनिया, पखाला र दमका बिरामी बढेका छन् । चिसोबाट बिरामी भएर दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि स्वास्थ्य संस्थामा आउने गरेको नलगाड कैना स्वास्थ्य चौकीका इञ्चार्ज हेमा पुनले बताइन् । चिसोले अधिकांशमा टाउको दुख्ने, पखाला लाग्ने, रुघाखोकी लाग्ने जस्ता लक्षणहरु देखिन थालेको छ ।

भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिकाका बासिन्दाले बिरामी भएर स्वास्थ्य संस्था जाँदा पनि औषधि पाउन सकेको गुनासो गरेका छन् । चिसोले गर्दा रुघाखोकी, निमोनिया, पखाला, टाउको दुख्ने, ज्वरो आउनेलगायत समस्या लिएर बिरामी स्वास्थ्य संस्थामा पुग्ने गरेका छन् । कतिपय स्वास्थ्य चौकीमा औषधि नहुँदा बिरामी रित्तै फर्कन बाध्य छन् । प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा कार्यरत अनमी सरस्वती शाहीले चिसोले गर्दा बिरामीको संख्या बढ्दै गएपछि औषधिको अभाव भएको बताइन् ।

जुनीचाँदे ६, दहकरुवा आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी कमलाकुमारी शाहीले पनि औषधि अभाव हुँदा उपचार सेवा प्रभावित भएको बताइन् । जुनीचाँदे गाउँपालिका सदरमुकाम खलङ्गाबाट सबैभन्दा दुर्गम स्थानमा रहेको पालिका हो । यहाँ अत्याधिक चिसो हुने गर्छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?