साझा कथा । गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललितपुरको बालकुमारी घटनामा सुरक्षा कमजोरी भएको स्वीकार गरेका छन् । सोमबार सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले यस घटनामा घटनामा इपीएस कार्यालय प्रमुखको भुमिका सकारात्मक नरहेको र सुरक्षा कमजोरी पनि भएको स्वीकार गरेका छन् ।
ललितपुरका प्रमुख जिल्ला अधिकारीले कुनै पनि हालतमा गोली नचलाउनू भनेर आदेश दिँदादिँदै गोली चलेको रिपोर्ट आफूसँग रहेको मन्त्री श्रेष्ठले बताए । संसदीय समितिको बैठकमा घटनाबारे जानकारी दिँदै मन्त्री श्रेष्ठले फिल्डमा खटिएका प्रहरीको कमाण्डर, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पीएसओ र इपीएस कार्यालय प्रमुखको भूमिकामा त्रुटि भएको आफूहरुको प्रारम्भिक बुझाइ रहेको उनको भनाइ छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले उक्त घटनामा फायरिङपछि मात्रै मन्त्रीको गाडी जलेको देखिएको बताएका छन् ।
उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको आगमनका कारण स्थिति असामान्य बनेको बताए । उनले आन्दोलनको जानकारी भइसकेपछि पनि मन्त्री ज्वाला सोही बाटो भएर आउनुले घटना थप असामान्य बनेकोमा जोड दिएका हुन् । मन्त्री ज्वालाले आन्दोलनकारीहरुसँग सवाल–जवाफ गरेको त्यसपछि धकेलाधकेल भएको र प्रहरीले गोली चलाउनुपर्ने अवस्था आएको उनको भनाइ छ । उनले फायरिङपछि मात्रै गाडी जलेको देखिएको पनि बताए ।
यसैगरी बालकुमारी घटनामा उच्चस्तरीय छानबिनमा दोषीलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिमा सोमबार भएको छलफलमा उपप्रधानमन्त्री श्रेष्ठले घटना सामान्य नभएको, तर प्रधानमन्त्री दोलखा भएकाले घटना भएकै दिन मन्त्रिपरिषद् बस्न नसक्ने भएपछि गृह मन्त्रालयले छानबिन समिति बनाएको सुनाए ।
।