हृदयाघातको समस्या युवामा बढी: कारण तनाव र धुम्रपानको बढी प्रयोग

साझा कथा । जीवनशैलीको परिवर्तनसँगै मुटुरोग मानव मृत्युको पहिलो कारण बन्दै गएको छ । सहरीकरणसँगै बढेको अस्वस्थ जीवनशैलीका कारण पुरुष र महिला दुवैमा हृदयाघातको दर बढ्दो क्रममा छ । साथै अस्वस्थकर खानपान र जीवनशैलीमा आएको परिवर्तनले मुटु रोगको समस्या बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् ।

नेपालगञ्जस्थित भेरी अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विकास नेपालले पहिले यो रोग विशेषगरी ४० वर्षभन्दा बढी उमेरका मानिसमा देखिन्थ्यो भने अहिले दैनिक खानपान र जीवनशैलीमा आएको परिवर्तनले ४० भन्दा कम उमेरका युवाहरूमा देखिने क्रम बढिरहेको छ ।

ुहार्टअट्याक हुने युवामा प्रमुख कारण तनाव र धुम्रपान रहेको पाइन्छ, डा. नेपालले भने मुटुरोगबाट जोगिन सावधानी नै उत्तम विकल्प हो । मुटुरोग लाग्नेबित्तिकै हृदयाघात नहुने भन्दै डा. नेपालले मुटुरोगसम्बन्धी लक्षण देखिएमा चिकित्सकलाई अनिवार्य देखाउनुपर्ने बताए । लक्षण देखिनेबित्तिकै उपचार सुरु गर्ने हो भने बिरामीलाई बचाउन सकिने उनको भनाइ छ ।

उच्च रक्तचाप, मधुमेह, शारीरिक निष्क्रियता, धुम्रपान, तनाव, अस्वस्थकर खानपान मुटुरोगको कारण रहेको उल्लेख गर्दै डा नेपालले शरीरका प्रत्येक अङ्गको माग र वितरणमा असन्तुलन हुँदा अङ्गहरूले कुनै न कुनै लक्षण देखाउने गरेको बताए ।

उनले मुटुमा समस्या सुरु भएमा छाती दुख्ने, उक्त दुखाइ सरेर घाँटी तथा शरीरको पछाडिको भाग दुख्ने, चिटचिट पसिना आउने, सास फेर्दा असहज हुने, मुटुको धड्कन छिटो चल्ने, दौडिँदा सास फेर्न गाह्रो हुने लक्षण देखिने जानकारी दिए ।

सन् १९९० तिर मुटुको रोगबाट लगभग १५ प्रतिशत मानिसको मृत्यु हुन्थ्यो तर, अहिले यो संख्या बढेर ३० प्रतिशतभन्दा माथि पुगेको छ । युरोपमा भन्दा दक्षिण एसियाली देशका मानिसमा मुटु रोगको समस्या बढी देखिएको छ। नेपाल जस्ता विकासोन्मुख राष्ट्रमा झन् धेरै समस्या छ । हृदयाघातको समस्या पुरुषको तुलनामा महिलालाई कम हुन्छ । तर, महिनावारी सुकेपछि भने पुरुष र महिलामा हृदयाघातको जोखिम बराबर हुन्छ ।

पछिल्लो समय युवायुवतीमा धूमपान, मद्यपान, मोटोपन, शारीरिक व्यायामको कमी लगायत अस्वस्थ जीवनशैली बढ्दै गएका कारण हृदयाघातको जोखिम बढ्दै गएको देखिन्छ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?