कोभिड १९ को नयाँ भेरियन्ट जेएन १ कति खतर्नाक ? सतर्कता अपनाउन मन्त्रालयको आग्रह

साझा कथा । विश्वव्यापी रुपमा बढ्दै गएको कोभिड १९ को सब भेरियन्ट जेएन १ को जोखिम बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

अहिले जेएन १ संक्रमण दर उच्च छ । छिमेकी देश भारतमा यसको संक्रमण पुष्टि भइसके पनि नेपालमा भने पुष्टि भइसकेको छैन । तर, सिमा क्षेत्रमा यस्ता भेरियन्टको लक्षणहरु देखिन थालेका कारण मन्त्रालयले सबै नागरिकहरुलाई सतर्कता अपनाउन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार छिमेकी मुलुकहरुमा पुष्टि भएको ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन १ जीन सिक्वेन्सिङ प्रविधिबाट हालसम्म नेपालमा पुष्टि भएको छैन । तर निगरानी र सतर्कता आवश्यक रहेको भन्दै सो सम्बन्धि सूचना जारी गरिएको प्रवक्ता बुढाथोकीको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयले भिडभाड हुने स्थानमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न, मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न र हात सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ । यसका साथै, कोभिड १९ को सब भेरियन्टको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै प्रवेश विन्दुका सम्पूर्ण हेल्प डेस्क, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरु, सम्पूर्ण सरोकारवालाहरुमार्फत स्क्रिनिङ र निगरानी भइरहेको बताउँदै कोभिड १९ व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।

कोभिड १९ को नयाँ भेरियन्ट जेएन १ मा परिवर्तित जिन ‘स्पाइक प्रोटिन’ गर्दा तीव्र र छोटो अवधिमा फैलिने विज्ञहरुको भनाइ छ । तर, ओमिक्रोनकै सबभेरियन्ट भएकाले डेल्टाजस्तो घातक नहुने अनुमान गरिएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?