साझा कथा । मधेशमा अत्याधिक चिसो बढेसँगै महोत्तरीका तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन् । रामगोपालपुर नगरपालिका र सोनमा गाउँपालिकाले आजदेखि र गौशाला नगरपालिका पुस २४ गतेदेखि लागू हुने गरी विद्यालयमा बिदा दिएका हुन् । दिनप्रतिदिन चिसो बढेसँगै शितलहरको प्रकोप समेत बढेकाले विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै सोनमा गाउँपालिकाले चार दिन, रामगोपालपुर नगरपालिकाले नौ दिन र गौशाला नगरपालिकाले एक साताको जाडो बिदाको सूचना प्रकाशित गरेका छन्। अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने भन्दै बिदा दिने निर्णय गरिएको सोनमा गाउँपालिकाका अध्यक्ष विषेश्वर यादवले बताए ।
रामगोपाल नगरपालिकाका प्रमुख रामदुलार साहले चिसोबाट विद्यार्थी प्रभावित हुने भन्दै जाडो छल्न केही दिन बिदा दिइएको बताए । साथै गौशालामा आज सम्पन्न सामुदायिक विद्यालयका प्रधानाध्यापकको बैठकले भोलिदेखि पुस मसान्तसम्म बिदा दिन आग्रह गरेअनुसार एक साताको जाडो बिदा दिइएको गौशाला नगरपालिकाका शिक्षा तथा खेलकुद शाखाले जनाएको छ ।
चिसो बढेपछि अन्य पालिकाका विद्यालयमा पनि विद्यार्थीको सङ्ख्या घटेको जनाइएको छ ।