Ad Banner

रामबहादुर बम्जनलाई सीआईबीले गर्‍यो सार्वजनिक- घरमा भेटियो पैसाको थुप्रो

साझा कथा । आफूलाई लिटल बुद्ध बताउने रामबहादुर बम्जनलाई ५ जना व्यक्ति बेपत्ता, अनुयायीमाथि यौन शोषण, हत्या र ठगी घटनाको आरोप लागेपछि लामो समयदेखि फरार रहेका बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सार्वजनिक गरेको छ । मंगलबार राति काठमाडौंको हात्तीगौंडास्थित घरबाट पक्राउ परेका आफूलाई तपस्वी बताउने बम्जनलाई सीआईबीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

मंगलबार बुढानीलकण्ठस्थित घरबाट पक्राउ परेका बम्जनमाथि सर्लाही जिल्ला अदालतले २०७६ सालमा पक्राउ पुर्जी जारी गरेको थियो । बम्जनलाई पक्राउ गर्न सीआईबी पटक पटक असफल हुँदै आएको थियो । यस पटक उनी काठमाडौंको हात्तीगौंडास्थित घरबाटै समातिएका हुन् ।

प्रहरीले बम्जनसँगै उनको घरबाट तीन करोड ३० लाख नेपाली रूपैयाँ बरामद गरेको छ । बमजनको घरमा छापामार्दा नेपाली रूपैयाँमात्र नभइ विदेशी मुद्रा पनि फेला पारेको जनाइएको छ । ब्युरो प्रमुख किरण ब्रजाचार्यका अनुसार तीन करोड तीस लाख ७५ हजार भेटिएको बताए । उनले भने, सबै हजार हजारको गड्डीहरू भेटिएको छ । अब बरामद भएको विदेशी पैसा गन्न बाँकी छ । डलर लगायत अरू पनि करेन्सी छन् । बरामद गरिएका नगद राशिमध्ये १७ देशका विभिन्न करेन्सीहरु रहेका छन् ।

उनको साथबाट १५ वटा मोबाइल, तीनवटा ल्यापटप र ३५ वटा पेनड्राइभ पनि बरामद भएको छ । आजसम्म कहाँ लुकेर बसेको भन्ने प्रश्नको जवाफमा विभिन्न जंगलहरूमा, कहिले आफन्तको घरमा बस्दै आएको मात्र उनले बताएका छन् । प्रहरीले मंगलबार बुढानीलकण्ठको हात्तिगौँडास्थित बमजनकै घरबाट उनलाई पक्राउ गरेको थियो । प्रहरीले केहीसमय अघिदेखि उनी काठमाडौंमा बस्दै आएको भन्ने सूचनाका आधारमा निगरानी बढाएको थियो ।

उनीमाथि बाल यौन दूराचारको आरोप पनि रहेको छ । सीआईबीका अनुसार उनलाई छिट्टै सर्लाही जिल्ला अदालतमा पेश गर्ने तयारी गरिएको छ ।

यो पढ्नु भयो ?