साझा कथा । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । नाबालिग बलात्कारको मुद्दामा उनलाई कैद सजाय तोकिएको हो ।
गएको पुस १३ मा लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका थिए । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले उनलाई दोषी ठहर गरेको थियो । यसैगरी पीडितले ५ लाख क्षतिपूर्ति पाउने भएकी छन् । गौशाला २६ लाई बलात्कारको आरोपमा उनलाई जिल्ला अदालत काठमाडौंले यस्तो आदेश गरेको हो ।
उनलाई ८ वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्ति गराउनुपर्ने आदेश गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई यस्तो आदेश गरेको हो ।
उता लामिछाने भने कुनै पनि आधार, कारण र प्रमाणहरूले सन्दीप दोषी नदेखिएकाले न्यायका लागि उच्च अदालत जान लागेका छन् । बुधबार काठमाडौं जिल्ला अदालतमा लामिछानेलाई न्यूनतम सजाय तोक्नुपर्ने पक्षमा बहस गरेपछि उनले लामिछाने आफैँले पनि आफू निर्दोष रहेको दलिल पेस गरिरहेकाले न्यायको माग गर्दै उच्च अदालत जाने अधिकार आफूहरूलाई सुरक्षित रहेको लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए ।
जिल्ला अदालतको फैसलालाई आफूहरूले मान्नुपर्ने बाध्यता भएकाले कम सजायको माग गर्दै सजाय निर्धारण सम्बन्धी बहसमा आफूहरूले भाग लिएको उनको भनाइ छ ।
लामिछानेको व्यक्तित्व, उनले खेल जगतमा पारेको एउटा प्रभाव र उनका असल चरित्रलाई हेरेर र उनको सामाजिक दायित्वलाई हेरेर न्यूनतम सजाय हुनुपर्ने माग आफूहरूको रहेको उनले बताए ।