घरेलु र अन्तर्राष्ट्रिय क्रिकेट खेल्न नपाउने गरि क्यानले लामिछानेलाई गर्‍यो निलम्बन

साझा कथा । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको छ । उनलाई घरेलु र अन्तर्राष्ट्रिय दुवै क्रिकेट खेल्न नपाउने गरि निलम्बन गरेको क्यानले जनाएको छ ।

काठमाडौँ जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले उनलाई निलम्बन गरेको हो ।

आज (बिहीबार) क्यानले विज्ञप्ति निकाल्दै भनेको छ “राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई जबरजस्ती करणीको मुद्दामा कसुर कायम गरी सजाय निर्धारण गरिएको र सम्मानित अदालतको आदेश अनुसार फौजदारी मुद्दामा दोषी ठहर भइ सजाय निर्धारण समेत भएकाले निज सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी गराउँदछौं ।”

राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका सन्दीप लामिछानेविरुद्ध २०७९ भदौ २१ गते बलात्कारको उजुरी परेको थियो । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछाने प्रहरीमा जाहेरी दर्ता हुँदा क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए । घटना बाहिरिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेलाई निलम्बन गरेको थियो।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?