साझा कथा । लामो समयदेखि बन्द भएको मेलम्चीको पानी काठमाडौं पठाउन सुरू गरिएको छ । तर, अहिले पठाइएको पानी पिउनका लागि भने योग्य रहने छैन ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ मा रहेको बाँध क्षेत्रबाट पानी पथान्तरण सुरू गरिएको हो । सुरूङ सफा गर्ने प्रयोजनका लागि बुधबारदेखि पानी पथान्तरण सुरू गरिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । ग्याल्थुम, सिन्धुखोला अडिट र सुन्दरीजलतर्फबाट धमिलो पानी पठाइएको हो । सुरूङबाट सफा पानी बग्न थालेपछि प्रतिसेकेन्ड दुई हजार लिटर पानी पठाउन सुरू गरिने आयोजनाले जनाएको छ ।
सुरूङ सफा हुन कति समय लाग्छ भनेर यकिन चाहिँ भइसकेको छैन । आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले भने ‘सामान्यतयाः ४/५ घन्टामै सुरूङ सफा भइसक्छ तर धमिलो पानी पसेकाले सफा हुन समय लाग्ने देखिएको हो ।’ काठमाडौंवासीले मेलम्चीको पानी भने माघको पहिलो साताबाट पिउन पाउने अनुमान आयोजनाको छ । तर, यति गते नै भन्ने एकिन भने गर्न नसकिने प्रवक्ता पन्तको भनाइ छ ।
पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोबीच २८ दिनभित्र काठमाडौंमा पानी पथान्तरण गर्ने गरी सम्झौता भएको थियो । सोही अनुरुप यो काम सम्पन्न भएको प्रवक्ता पन्तको भनाइ छ । अहिले काठमाडौंमा अस्थायी तवरले पानी ल्याउन लागिएको छ । स्थायी तरिकाले पानी ल्याउन सुरूङको मुखमा बाँध बनाउनुपर्ने हुन्छ । अहिले बाढीले तहसनहस बनाएको बाँध क्षेत्र झन्डै एक दर्जनजति गेटहरू नखोतली सिधै सुरूमा खोला हालेर पानी ल्याइएको छ ।
साउन २८ र २९ गते आएको बाढीले मुहानको संरचनामा ठूलो क्षति पुगेको थियो । बाँध क्षेत्र सार्दा थप तीन वर्ष अस्थायी तवरले नै पानी काठमाडौं पथान्तरण गर्नुपर्ने पन्तको भनाइ छ ।