साझा कथा । तपाईं सहरको कोलाहाल र धुँवाधुलोबाट दिक्क हुुनुहुन्छ ? कि कार्यव्यस्तताले घुमघाम गर्ने समय नपाएर छट्पटाउनु भएको छ ? यदि तपाईंमा घुम्ने इच्छा छ भने निकाल्नुस् दुई/चार घण्टाको समय काठमाडौं उपत्यकाको वरपर घुम्ने गन्तब्यहरु धेरै छन् । धुम्नुस् छानीछानी ।
यी गन्तव्यहरु मध्यको साथीभाइ र परिवारका साथ समुहमा रिफ्रेसमेन्टका लागि घुम्ने गन्तव्य हो मच्छेगाउँ पैदलयात्रा । यो गन्तव्य सांस्कृतिक तथा पर्यावरणीय दृष्टिले महत्वपूर्ण छ । जुन चन्द्रागिरी नगरपालिकाको वडा नं. ९ मा पर्दछ ।
करिब ३ घण्टाको यात्रा तय गर्ने हो भने मच्छेनारायण मन्दिरबाट मानेडाँडा, बाघभैरब मन्दिर, पुष्पलाल पार्क, ज्वालादेवी मन्दिर, खरिबोट, बुद्ध स्तुपा तथा बन्दै गरेको नेपालको तेस्रो ठूलो विश्व शान्ति स्तुपा हुँदै पिकमा पुगेर तल झरिन्छ । पहाडको फेदीमा मौलो गाढेको पोखरी हुँदै यो यात्रामा कारिब ७ किलोमिटरको दूरी तय हुनेछ । यो यात्रामा १८ सय मिटरसम्मको हाइटमा पुग्नुहुनेछ । यात्रा थप ३ घण्टा लम्याउने हो भने विश्व शान्ति स्तुपाबाट भष्मासुरको २४ सय मिटर हाइट तय गर्नुहुनेछ । यसको लागि दिनभरीको समय छुट्याउनु पर्नेछ ।
यो यात्रामा जंगलको बीचबाट शहरदेखि सेताम्य हिमशृंखला अवलोकन गरी तपाईं साताभरको थकान मेटाउन सक्नुहुनेछ । मौका पर्यो भने यहाँ विभिन्न प्रजातीका चराचुरुङ्गी पनि हेर्न पाइन्छ । पदयात्राको क्रममा परम्परागत, तेस्रो, ठाडो तथा ढुङ्गा छापेको सिँढीको बाटो, ओरालो बाटो हिंड्न तयार हुनुपर्नेछ । तर, नआत्तिनुस् बाटो सजिलो छ र व्यवस्थित बनाइएको छ ।
चन्द्रागिरी नगरपालिकाको वडा ९ र मच्छेनारायण पर्यटन प्रवद्र्धन समितिको संयुक्त आयोजनामा गत पुस २८ गते भएको पैदलयात्राका केही दृश्यहरु साझा कथामा फोटो कथाको रुपमा पस्केका छौं ।
फोटोः प्रकाश गोपाली, साझा कथा