साझा कथा । आईसीसी यू–१९ क्रिकेट विश्वकप आजदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ । भविष्यका स्टार क्रिकेटर जन्माउने प्रतियोगिताको रुपमा मानिने यू–१९ विश्वकपको यो १५औं संस्करण हो ।
सन् १९८८ मा पहिलो पटक अष्ट्रेलियामा आयोजना भएको यू–१९ क्रिकेट विश्वकप यसपटक सुरुमा श्रीलंकामा हुने तय थियो । तर आईसीसीले श्रीलंका क्रिकेटलाई निलम्बन गरेपछि प्रतियोगिता दक्षिण अफ्रिकाले आयोजना गर्ने भएको हो ।
यू–१९ विश्वकपमा १२ टेष्ट राष्ट्रका युवा टोलीसहित चार एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । विश्वकपमा आज दुई खेल हुँदैछ । समूह ‘ए’ मा रहेका आयरल्याण्ड र अमेरिका तथा समूह ‘बी’ मा रहेका दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीच खेल हुनेछ । दुवै खेल नेपाली समय अनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ ।
नेपालले पनि ८ वर्षपछि यू–१९ विश्वकपमा पुनरागमन गर्दैछ । नेपालले पहिलो खेल आउने आइतबार न्युजिल्याण्डसँग खेल्नेछ । यू–१९ विश्वकपमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । जस अनुसार समूह ‘ए’ मा भारत, बंगलादेश, आयरल्याण्ड र अमेरिका तथा समूह ‘बी’ मा इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेष्ट इन्डिज र स्कटल्याण्ड छन् । यस्तै, समूह ‘सी’ मा अष्ट्रेलिया, श्रीलंका, जिम्बाव्वे र नामिबिया तथा समूह ‘डी’ मा नेपाल र न्युजिल्याण्डसँगै अफगानिस्तान र पाकिस्तान छन् ।
चार एसोसिएट राष्ट्र नेपाल, स्कटल्याण्ड, नामिबिया र अमेरिकासहित न्युजिल्याण्ड छनोट चरण पार गर्दै विश्वकपमा पुगेका हुन् । नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ विश्वकपका लागि देव खनालको कप्तानीमा टोलीको घोषणा गरेको छ । घोषित नेपाली टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सन कुमार झा, दीपेशप्रसाद कँडेल, विशालबिक्रम केसी, सुवास भण्डारी र दीपक बोहरा रहेका छन् । उत्तम रंगु थापामगर, बिपिन रावल, तिलकराज भण्डारी, दीपक बोहरा र आकाश चन्द पनि टोलीमा रहेका छन् ।
यू–१९ विश्वकप ५० ओभरको प्रतियोगिता हो । यू–१९ विश्वकप सुरु हुनुअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सहभागी १६ वटै राष्ट्रका लागि दुई–दुईवटा अभ्यास खेल खेलाउने व्यवस्था मिलाएको थियो । भारतले हालसम्म पाँचपटक यू–१९ विश्वकपको उपाधि जितेको छ । भारतले सन् २०००, सन् २००८, सन् २०१२, सन् २०१८ र सन् २०२२ मा यू–१९ विश्वकप जितेको थियो । अस्ट्रेलियाले पनि तीनपटक यो प्रतियोगिताको उपाधि जितेको छ । अस्ट्रेलियाले सन् १९८८, सन् २००२ र सन् २०१० मा यू–१९ विश्वकपको उपाधि चुमेको थियो ।
पाकिस्तानले हालसम्म दुईपटक यू–१९ विश्वकपको उपाधि उचालेको छ । पाकिस्तानले सन् २००४ र सन् २००६ मा उपाधि जितेको थियो । यसका अतिरिक्त बंगलादेशले सन् २०२०, दक्षिण अफ्रिकाले सन् २०१४, वेस्ट इन्डिजले सन् २०१६ र इङ्गल्यान्डले सन् १९९८ मा यू–१९ विश्वकपको उपाधि उचालेका थिए ।