साझा कथा । दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकप क्रिकेटमा नेपालले पहिलो खेल आज न्युजिल्यान्डसँग खेल्दै छ । खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ ।
नेपालले ८ वर्षपछि यू–१९ विश्वकपमा पुनरागमन गर्दैछ । नेपालले पहिलो खेल आज (आइतबार) न्युजिल्याण्डसँग खेल्न लागेको हो । सन् २००६ मा कनिष्क चौगाईंको कप्तानीमा रहेको नेपालले वसन्त रेग्मीको अलराउन्ड प्रदर्शनमा न्युजिल्याण्डलाई एक विकेटले स्तब्ध पारेको थियो । त्यस्तै २०१६ मा राजु रिजालको कप्तानी इनिङमा नेपाल विजयी भएको थियो । त्यसबेला टोलीमा रहेका रचिन रविन्द्र, फिन एलेन र ग्लेन फिलिप्स अहिले सिनियर टोलीमा छन् ।
यसपटक नेपाली टोलीमा सिनियर टोलीका अनुभव बोकेका खेलाडी पनि छन् । लगातार यू-१९ उमेर समूहमा प्रतिस्पर्धा गरिरहेको टोलीमा अनुभवी प्रशिक्षक जगत टमाटाको उपस्थिति छ । सिनियर टोलीविरुद्ध लगातार खेलेका तीव्र गतिका बलर रहेकाले पनि नेपालले आशा राख्ने ठाउँ छ । त्यसका लागि ब्याटरले जिम्मेवारी लिनुपर्ने हुन्छ ।
यू–१९ विश्वकपमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । जस अनुसार समूह ‘ए’ मा भारत, बंगलादेश, आयरल्याण्ड र अमेरिका तथा समूह ‘बी’ मा इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेष्ट इन्डिज र स्कटल्याण्ड छन् । यस्तै, समूह ‘सी’ मा अष्ट्रेलिया, श्रीलंका, जिम्बाव्वे र नामिबिया तथा समूह ‘डी’ मा नेपाल र न्युजिल्याण्डसँगै अफगानिस्तान र पाकिस्तान छन् ।
चार एसोसिएट राष्ट्र नेपाल, स्कटल्याण्ड, नामिबिया र अमेरिकासहित न्युजिल्याण्ड छनोट चरण पार गर्दै विश्वकपमा पुगेका हुन् । नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ विश्वकपका लागि देव खनालको कप्तानीमा टोलीको घोषणा गरेको छ । घोषित नेपाली टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सन कुमार झा, दीपेशप्रसाद कँडेल, विशालबिक्रम केसी, सुवास भण्डारी र दीपक बोहरा रहेका छन् । उत्तम रंगु थापामगर, बिपिन रावल, तिलकराज भण्डारी, दीपक बोहरा र आकाश चन्द पनि टोलीमा रहेका छन् ।
यसअघि नेपालले २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ मा यू–१९ विश्वकप खेलेको थियो ।