पूर्वी तराईका जिल्लाहरुमा जाडो बढ्यो– जनजीवन प्रभावित

साझा कथा । माघको पहिलो सातादेखि लगातार चलिरहेको शीतलहर र बाक्लो हुस्सुसँगै बढेको जाडोले पूर्वी तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ ।

पछिल्लो २० दिनदेखि महोत्तरीलगायत पूर्वी तराईका जिल्लामा निरन्तर बढ्दै गएको जाडोले जनजीवन प्रभावित बनेको हो । लगातारको चिसो कठ्याङ्ग्रिदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण मानिस, पशुचौपाया तथा बालिनालीसमेत प्रभावित भएका छन् । जाडोमा खासगरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुने गर्दछन् भने आर्थिक विपन्नता हुने कतिपय मानिस कठ्याङ्ग्रिएर मर्ने गर्दछन् भने अत्याधिक चिसोको कारण तरकारी खेती पनि प्रभावित हुन थालेको छ ।

जिल्लाको सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ । चिसो बढेसँगै बजारमा बाक्लो ऊनीका कपडाको बिक्री भने बढेको व्यापारी बताउँछन् । स्वास्थ्य केन्द्रसहित जिल्ला अस्पतालमा रुघा, खोकी, दम तथा हाडजोर्नी दुखाइका बिरामीको सङ्ख्यामा वृद्धि भएको चिकित्सक बताउँछन् ।

दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीको विभिन्न गाउँबस्तीमा जाडोबाट बच्नका लागि ठाउँठाउँमा स्थानीयवासील आगो बालेर ताप्ने गरेको देखिन्छ । विभिन्न पालिकाले आ–आफ्नो क्षेत्रका गाउँ बस्तीमा आगो बाल्न निःशुल्क दाउरा उपलब्ध गराउनुका साथै कम्बल, सिरक तथा न्यानो कपडा वितरण गरिरहेका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?