साझा कथा । आईसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत समूह डी को दोस्रो खेलमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग ६४ रनले हार बेहोरेको थियो । उक्त खेलमा स्नेहिथ रेड्डीको आक्रामक शतकमा न्युजिल्यान्डले प्रस्तुत गरेको ३ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ९ विकेटको क्षतिमा २ सय ३८ रन जोडेको थियो । पाकिस्तानले भने पहिलो खेलमा फगानिस्तानमाथि १ सय ८१ रनको फराकिलो जित निकालेको थियो । पाकिस्तानले अफगानी टोलीलाई १ सय ३ रनमा अलआउट गरेको थियो ।
नेपालले आजको खेलमा पाकिस्तातानलाई हराउँदै सुपर सिक्स पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । नेपालले आज हारेपनि अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई हराएमात्रै पनि सुपर सिक्समा पुग्ने समीकरण छ ।
नेपालले गत महिना पाकिस्तानविरुद्ध एसीसी यू–१९ एसिया कपमा पनि खेलेको थियो । उक्त खेलमा पाकिस्तान ७ विकेटले विजयी भएको थियो । दुवै टोलीमा त्यसयता खासै परिवर्तन भएको छैन । यू–१९ विश्वकप इतिहासमा नेपाल र पाकिस्तान तीन पटक भिडेका छन् । सन् २००० मा खेल रद्द हुँदा २००२ संस्करणमा नेपालले पाकिस्तानलाई स्तब्ध पारेको थियो । सन् २०१६ मा भने पाकिस्तानले १ सय २२ रनको जित हासिल गरेको थियो ।
समूहको शीर्ष ३ स्थानमा रहने टोलीले सुपर ६ को यात्रा तय गर्नेछन् । त्यसपछि समूह ए का टोलीले समूह डी तथा समूह बी र समूह सी को टोलीले एक अर्कासँग खेल्नेछन् । सुपर सिक्सको दुई समूहको शीर्ष टोलीले भने सेमिफाइनलमा खेल्नेछन् । समूहमा पुछारका टोलीले पनि स्थान निर्धारणका लागि खेल्नेछन् ।