साझा कथा । हिमाली जिल्ला हुम्लामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ। हिउँदयाममा हिमपात नभए पनि यस वर्ष अत्यधिक चिसो महसुस गरिएको स्थानीय बताउँछन्। जिल्लाको मौसममा बदलीसँगै बिहानबाट बाक्लो बादल लाग्दा चिसो बढेको हो । मङ्गलबार साँझदेखि आकाशमा बादलले छोपेसँगै आज बिहानदेखि चिसो अत्यधिक बढेको छ ।
जिल्लामा मौसममा परिवर्तन भइरहेकाले स्थानीयको दैनिकी कष्टकर हुनुका साथै हवाई यातायात पनि प्रभावित भएको सिमकोट विमानस्थलका प्रमुख मेन्द्र सिंहले बताए । उनका अनुसार विमानस्थलमा रहेको मौसम मापन गर्ने उपकरणमा आजको तापक्रम माइनस १० डिग्री सेल्सियस देखिएको छ ।
“आज हुम्लाको तापक्रम माइन १० डिग्री सेल्सियसमा रहेको छ, भने उत्तरी नाम्खामा तापक्रम झन घटेको छ”, प्रमुख सिंहले भने ।
जिल्लाको तापक्रम माइनसमा झरेसँगै चिसो बढेपछि चिसोबाट बच्न सतर्कता अपनाउन स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले सबैमा अनुरोध गरेको छ ।
चिसो ह्वात्तै बढेपछि स्थानीयवासी तथा कर्मचारीले दैनिक उपयोगका लागि दाउरा सङ्कलन गर्न थालेका छन् । जाडो मौसममा एक भारी दाउराको मूल्य एक हजारसम्म पर्ने गरेको छ ।
आज चिसो बढी भएपछि सदरमुकाम सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयमा कर्मचारीलाई काम गर्न समस्या भएको छ । चिसोमा सेवाग्रही कम आउने भएकाले सेवा लिन आएका सेवाग्राहीलाई विद्युत्को प्रयोग गरी हिटर तापेर सेवा दिइएको शिखर इन्स्योरेन्स प्रालि हुम्ला शाखाका उपेश भण्डारीले बताए ।