साझा कथा । जिल्ला अदालत काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफ्नो ख्यातिको दुरुपयोग गरेको ठहर गरेको छ । सोमबार आएको फैसलाको पूर्णपाठमा न्यायाधीश शिशिरराज ढकालको इजलासले २५ पुस, २०८० मा गरेको फैसलाको पूर्णपाठमा क्रिकेट खेलेर बनाएको व्यक्तित्वको दुरुपयोग गरी पीडितको कमजोर अवस्थाको फाइदा उठाएको ठहर गरेको हो ।
जिल्ला अदालत काठमाडौंले सन्दीप लामिछानेले यौन सम्बन्ध राख्ने मनसायले होटल लगेको र कमजोर आर्थिक हैसियतको फाइदा उठाएर गौशाला-२६ लाई बलात्कार गरेको ठहर गरेको छ । न्यायाधीश शिशिर ढकालको इजलासले पुस २५ गते सुनाएको फैसलाको पूर्णपाठमा कमजोर आर्थिक अवस्था भएकी गौशाला–२६ लाई सन्दीपले पटकपटक फोन सम्पर्क गरेको र आफ्नो ख्यातिको दुरूपयोग गर्दै बलात्कार गरेको उल्लेख गरिएको छ ।
“पीडितको उमेर, निजको पारिवारिक तथा आर्थिक अवस्थासमेत र प्रतिवादीको शारीरिक तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय व्यक्तित्वसमेत हेर्दा यी दुईबीचमा समानता रहेको भन्ने देखिँदैन । पीडित आर्थिक अवस्थासमेतका कारणबाट निज सहज रूपमा दुरुपयोग हुने अवस्थाको देखिन्छिन् । ‘पीडितले जबर्जस्ती गरेको भनी भनेको अवस्था र पीडित तथा प्रतिवादीको असमान हैसियत रहेको देखिएको अवस्थामा भएको करणीको कार्यलाई मन्जुरीमा भएको भन्न मिल्ने देखिएन ।”,पूर्णपाठमा भनिएको छ ।
न्यायाधीश ढकालले सन्दीप र पीडितबीचको सम्बन्ध मञ्जुरीमा नभएको भन्ने स्थापित गर्न सर्वोच्च अदालतले विभिन्न मुद्दामा शक्तिशाली पुरूष र कमजोर हैसियतका महिलाबीच हुने शारीरिक सम्बन्ध मञ्जुरीमा हुन नसक्ने भनेर गरेका व्याख्याहरूलाई आधार मानेका छन् ।