साझा कथा । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले १० रोपनी जग्गा हडपेको आरोपमा (सीजी) ग्रुप सीजी होल्डिङ्गसका अध्यक्ष, प्रबन्ध निर्देशक अरुण चौधरी र बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापालाई बिहीबार पक्राउ गरेको थियो । चौधरीको द चाँदबाग स्कुलले १० रोपनी जग्गा हडपेको र त्यसमा तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडका प्रमुख अजितनारायण सिंह थापाको मिलेमतो रहेको आरोपमा दुवै जनालाई पक्राउ गरिए हो । पक्राउ परेका उनिहरुसँग अनुसन्धान अधिकृतहरूले बयान लिएका छन् । आज (शुक्रवारं) जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं ल्याएर बयान गराइएको केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यले बताइन् ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सन्देश श्रेष्ठको रोहबरमा अनुसन्धान अधिकृतहरूले अरुण चौधरीसँग १० घण्टा बयान लिएका हुन् । बयानका क्रममा चौधरीले आफु जग्गा फिर्ता गर्न तयार रहेको बताएका थिए । उनले भनेका छन्–‘हाम्रो लगानी अनुसार बाँसबारी छाला जुत्ता कारखानाले जग्गा दिएको थियो तर, सो जग्गा फिर्ता गर्न म तयार छु ।’ बाँसबारी छाला जुत्ता कारखानालाई २५ प्रतिशत शेयर दिने गरी चौधरी समूहले च्याम्पियन फुटवेयर स्थापना गरेको थियो । सम्झौता अनुसार बाँसबारी छाला जुत्ता कारखानाले च्याम्पियन फुटवेयरमा १२ लाख लगानी गर्नुपर्ने भएपनि २६ लाख लगानी गरेको सिआईबीका एसएसपी दिनेश आचार्यले बताए ।
अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्–‘करिब १० घण्टा लगाएर अरुण चौधरी र अजित नारायण सिंह थापाको बयान सिद्ध्याएका छौँ ।’ बाँसबारीको १० रोपनी जग्गा हिनामिनाबारे अनुसन्धान अधिकृतहरूले आवश्यकता अनुसार पूरक बयान पनि लिन सक्छन् । तर, उनीहरूको प्रारम्भिक बयान पुरा भएको छ ।
बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष थापाले जग्गा निजीकरण गर्नुअघि अर्थ मन्त्रालय र उद्योग मन्त्रालयबाट निरीक्षण टोली गएको बताएका छन् । बयानमा उनले भनेका छन्–‘मन्त्रालयबाट आउनेहरूले पनि जग्गा हस्तान्तरण गर्न नमिल्ने कुरा गरेनन्, मेरो तर्फबाट पनि गल्ती भएछ ।’ बाँसबारी छाला जुत्ता कारखानाको कम्पाउन्डमा सरकारसँग साझेदारीमा च्याम्पियन फुटवेयर कम्पनी स्थापना गरेर चौधरी समूहले जग्गा निजीकरण गरेको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान निष्कर्ष छ ।
सीआईबी ले उक्त जग्गा हिनामिना प्रकरणमा अरु व्यक्ति पनि अनुसन्धानमा तानिन सक्ने बताएको छ । आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै सीआईबीका प्रवक्ता एवम् एसएसपी नवराज अधिकारीले बाँसबारी छालाजुत्ता उद्योगको जग्गा हिनामिना प्रकरणको अनुसन्धान पूरा गर्न तीन महिना लागेको समेत जानकारी दिएका हुन् । सीआईबीका अनुसार २०५२ सालमा च्याम्पियन फुटवेयरको २५ प्रतिशत शेयर अरुणले किनेपछि २०५४ पुस ४ गते प्राइभेट कम्पनीमा लगिएको थियो । बाँसबारी छाला उद्योगले दिएको १० रोपनी जग्गामा सञ्चालन हुने भनिएको च्याम्पियन फुटवेयरमा प्रारम्भिकरूपमा चौधरी समूहको ५१ प्रतिशत, बाँसबारी छाला उद्योगको २५ प्रतिशत र २४ प्रतिशत शेयर सर्वसाधारणको रहने भनिएको थियो ।
छाला उद्योगले आफ्नो नाममा रहेको १८ रोपनी ३ आना २ पैसा जग्गामध्ये १० रोपनी जग्गा च्याम्पियन फुटवेयरलाई दिएको थियो । प्रति रोपनी २ लाख ५० हजारको दरले बाँसबारी छाला उद्योगले कुल २६ लाख लगानी गरेको देखिएको र च्याम्पियन फुटवेयरको चुक्ता पुँजी ५० लाख मात्र देखिएको सीआईबीको दाबी छ । २५ प्रतिशत शेयरको मूल्य साढे १२ लाख रूपैयाँमात्र पर्ने भए पनि बाँसबारीले २६ लाख रूपैयाँ मूल्य बराबरको १० रोपनी जग्गा दिएको सीआईबीको भनाइ छ । ‘चुक्ता पुँजीलाई ५० लाखबाट एक करोड पुर्याइएपछि बाँकी अरु पक्षबाट ७४ लाख रूपैयाँ लगानी हुनुपर्नेमा जम्मा ८ लाख मात्र लगानी भएको पाइयो । त्यसमा पनि कम्पनीले ३ वर्षसम्म उत्पादन गरेको देखिन्छ’, सीआईबीका एसएसपी दिनेश आचार्यले भने । उनले लामो समयसम्म अनुसन्धान गरेर आफूहरु निष्कर्षमा पुगेको भन्दै शंका नगर्न आग्रह गरे ।