साझा कथा । भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल सिजन १४’ उपाधि दौडमा रहेकी नेपाली गायिका मेनुका पौडेल प्रतिस्पर्धाबाट बाहिरिएकी छन् ।
भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’ को आइतबारको एपिसोडमा उनी बाहिरिएको घोषणा भएको हो ।
मेनुकाले पनि आफ्नो सामाजिक संजालबाट पनि आफू इण्डियन आइडलबाट बाहिरिएको जानकारी दिएकी छन् । उनले लेखेकी छन् – मेरो इण्डियन आइडलको यात्रा यहीँ सकिएको छ । तर, मेरो जीवनको साङ्गीतिक यात्रा भर्खर सुरु भएको छ । म सबै जनालाई आश्वस्त तुल्याउन चाहन्छु कि मैले पहिलेभन्दा अझै सक्रियरुपमा गायन र प्रस्तुतिमार्फत सबैलाई मनोरञ्जन दिन सक्नेछु ।’
उनी इण्डियन आइडलको उत्कृष्ट १० मा छनोट भएकी थिइन् । इन्डियन आइडलमा रहँदा उनले ‘सलार’ मार्फत भारतीय फिल्म गायनमा डेब्यु गरेकी थिइन् । मेनुकालाई आँखा देख्न सहज बनाउन चिकित्सकहरुले ‘एआई भिजन चस्मा’ उपलव्ध गराएका थिए । जसमार्फत अबदेखि उनले पढ्न, हिँड्न र मान्छे चिन्न सक्छिन् ।