Ad Banner

भारतीय गाडीबाट एक करोड ८२ लाख बराबरको नक्कली नोट बरामद

साझा कथा । प्रहरीले सुनसरीको इनरुवाबाट एक भारतीय स्कारपियो सहित एक करोड ८२ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको छ ।

आइतबार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद गरिएको सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले बताए । नक्कली नोटसहित प्रहरीले एकजना भारतीय नागरिकलाई पनि नियन्त्रणमा लिएको छ ।

सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेकोमा शंका लागेपछि खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाइ ल्याइएको नक्कली नोट बरामद भएको रेग्मीले बताए । बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार गाडी चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयद पनि पक्राउ परेका छन्।

गाडीमा सवार अर्का व्यक्ति भने फरार छन् । गाडी भारतबाटै आएको देखिएको र अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो पढ्नु भयो ?