साझा कथा । सिरहाको सिरहा नगरपालिका–१९ का मुगालाल यादव अहिले ९२ वर्षका भए । उनले बाल्यकालदेखि नै कमला नदीमाथि पुल बन्छ भनेर सुन्दै आएका थिए तर यतिका वर्षसम्म पनि मोटर गुड्ने पक्की पुल बनेको छैन । त्यही छेउमा अहिले भने झोलुङ्गे पुल बनेको छ ।
९२ वर्षीय यादव जीवनको उत्तरार्द्धमा कमला नदीमाथि झोलुङ्गे पुल देख्दा दङ्ग भएका छन् र खुसी हुँदै उनले भने, ‘झोलुङ्गे पुल भए पनि वर्षौंपछिको सपना पूरा भएको छ । अब जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।यादवले कमला नदीमा पुल नहुँदा आफ्नो पुस्ताले भोगेको सास्तीबाट नयाँ पुस्ताले मुक्ति पाएको देखेर निकै हर्षित भएको सुनाए ।
‘सिरहा घर भए पनि ससुराली, मावली, दिदीबहिनी, फुपू, इष्टमित्रहरुको सिमापारी धनुषामै छ । तर अहिलेसम्म हत्केलामा ज्यान राखेर ओहोरदोहोर गर्नुपर्थ्यो । झोलुङ्गे पुलले वर्षौदेखिको त्यो समस्या समाधान गरेको देख्दा निकै रमाइलो पनि लागिरहेको छ’, यादवले खुसी व्यक्त गरे । नदीले वारि र पारि बनाएका मनहरुलाई पुलले भौतिकरुपमै जोडेको उनको भनाइ छ । धनुषा र सिरहा सीमानामा पर्ने कमला नदीमा झोलुङ्गे पुल निर्माण भएपछि अहिले यहाँका नागरिकलाई कमला नदीको अवरोध छिचोल्न सहज भएको छ । अहिले मोटरसाइकल चालक र पैदल यात्रुहरुले यो पुलबाट वारपार गर्ने गरेका छन् ।
धनुषाको जनकनन्दिनी गाउँपालिका–६ कठाल र सिराहा नगरपालिका—१३ मलहनियाँलाई जोड्न कमला नदीमा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको हो । अहिले पुल हेर्नका लागि मात्रै पनि यहाँ दैनिक सयौँ मान्छे आउने गरेका छन् ।धनुषाबाट सिरहा र सिरहाबाट धनुषा अर्थात् प्रदेश राजधानी जनकपुरधाम पुग्न महेन्द्र राजमार्ग या त भारतको जयनगर पुग्नुपर्ने भएकाले अधिकांश नागरिकले यही बाटो प्रयोग गर्छन् । तर यहाँ न मोटर गुड्ने पक्की पुल छ न त विकल्प नै थियो । यो बाटो प्रयोग गर्दा करिब ६० किलोमिटर दूरी छोटिन्छ । अरु बाटो प्रयोग गर्दा ८७ किलोमिटर लामो दूरी पार गरेर दुबै जिल्लाका सदरमुकाम पग्नुपर्छ ।
यो झोलुङ्गे पुलले आफ्नै प्रदेश राजधानी जनकपुरधाम पुग्न भारत भएर जानुपर्ने र त्यहाँ जाँदा भोग्नुपरेको सास्तीबाट आंशिकरुपमा भए पनि छुटकारा मिलेको छ । ‘राजमार्गको बाटो जाँदा धेरै दूरी पार गर्नुपर्छ । भारतीय बाटो प्रयोग गर्दा समयको बर्बादी त थियो नै भारतीय पक्षबाट अपमान पनि भोग्नुपर्ने समस्याको अन्त्य भएको छ’, इञ्जिनीयर मण्डलले भने ।
पुल निर्माणले स्वास्थ्य क्षेत्रमा नागरिकको पहुँच बढ्ने प्रादेशिक अस्पताल सिरहामा कार्यरत अर्थोसर्जन डा।रवि श्रीवास्तव बताउँछन् । लामो दूरीका कारण यसअघि स्वास्थ्योपचारका लागि जनकपुरधाम नपुगेर कोशी प्रदेशको बिराटनगर पुग्ने गरिएकामा अब त्यो बाध्यता हट्ने विश्वास जागेको उनले बताए ।
त्यसैगरी जनकपुरधाम टाढा भएकाले धनुषाको जनकनन्दनी र कमला नगरपालिकाका कठाल, उदहा, सघारा, लगमालगायतका विद्यार्थीहरु सिरहामा पढ्दै आएका थिए । तर पुलको अभावमा निकै समस्या थियो । ‘जनकपुरधाम टाढा भएकाले यहाँका विद्यार्थीहरु प्राथमिक शिक्षादेखि उच्च शिक्षा पढ्नै सिरहा नै जाने गर्छन् तर पुल नभएका कारण निकै सास्ती थियो । अब केही हदसम्म समस्या समाधान भएको सिरहा नगरपालिका–७ का शिक्षक जयचन्द्र यादवले बताउँछन् ।
त्यस्तै पुल निर्माणपछि यस क्षेत्रका किसानलाई कृषिउपजको बजारीकरणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको धनुषा जनकनन्दनी गाउँपालिका–६ कठालका रामसेवक यादव बताउँछन् । उनले भने, ‘पुलको अभावले स्थानीयवासी किसानहरुलाई आवतजावतका साथै कृषिजन्य उत्पादन बजारमा पुर्याउन असहज भएको थियो । पुलको निर्माणसँगै यस क्षेत्रमा उत्पादित कृषिजन्य वस्तुको सहज बजारीकरणले व्यावसायिक कृषिप्रतिको आकर्षणसमेत बढाउनेछ ।’
धनुषाको खजुरीमा रहेका ऐतिहासिक लक्ष्मीनारायण मन्दिर र सिरहामा रहेका मिथिलाका विभूति राजा सल्हेशको मन्दिरजस्ता पर्यटकीयस्थलमा पनि आन्तरिक धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने स्थानीय रामविनोद यादव बताउँछन् ।