आयोगले प्रतिवेदन बुझाएपछि सतहमा आयो बालकुमारी घटना

साझा कथा । बालकुमारी घटना जाँचबुझ आयोगले प्रतिवेदन सरकारलाई बुझाएसँगै सेलाइसकेको बालकुमारी घटना पुनः सतहमा आएको छ । जसका कारण प्रतिपक्षी दलहरुले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजिनामालाई मुख्य मुद्धा बनाएका छन् ।

कोरिया भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालय परिसर र चक्रपथ सडकमा प्रदर्शनको क्रममा प्रहरीको गोली लागी दुई युवाको मृत्यु भएको थियो । उक्त घटनाबारे छानबिन गर्न सरकारले पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल नेतृत्वमा छानबिन आयोग गठन गरेको थियो । उक्त आयोगले परिस्थितिको आकलन नगरी र आफ्नै पीएसओको अनुरोधलाई बेवास्ता गर्दै मन्त्री ज्वाला घटनास्थल पुगेर परिस्थितिलाई भड्काएको ठहर गरेको बताइएको छ ।

प्रदर्शनमा मन्त्री ज्वाला नगएको भए अवस्था गम्भीर नबन्न सक्ने छानबिन समितिको निष्कर्षलाई आधार मानेर विपक्षी दलहरुले मन्त्री ज्वालाको नैतिकताको आधारमा राजीनामा माग गरेका हुन् ।

प्रमुख विपक्षी नेकपा एमालेसहितका विपक्षी दलहरुले आइतबार प्रतिनिधि सभाको बैठकनै अवरोध गरेका थिए । सभामुखले समय दिएपछि एमालेका सचेतक महेश बर्तौलाले मन्त्री ज्वालालाई बर्खास्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष माग गरेका थिए । सचेतक बर्तौलाले ‘आयोगको निष्कर्ष बहालवाला भौतिक मन्त्रीको लापरबाहीको कारणले त्यो घटना भयो र दुई युवकको मृत्यु भयो भन्ने छ, तर मन्त्रीलाई किन कारबाही गरिदैन ?’ उनले घटना हुनुमा मुख्य कारक बनेका मन्त्रीलाई अविलम्ब हटाउन प्रधानमन्त्री समक्ष माग गरे ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पनि मन्त्री ज्वालाको राजीनामा मागेका छन् । उनले छताछुल्ल प्रमाण भएको व्यक्ति कारबाहीमा नपर्नु आफैमा दुःखद् भएको भन्दै सरकारको नियतमाथि नै शंका लागेको बताए । त्यसैगरि, प्रतिनिधि सभाको शून्य समयमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दिपकबहादुर सिंहले पनि मन्त्री ज्वालालाई तत्काल हटाउन माग गरेका छन् ।

रोजगार अनुमति प्रणाली ईपीएसको परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा सहभागी अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । सोहीक्रममा प्रदर्शनकारीले मन्त्री ज्वालाको गाडीमा समेत आगजनी गरेका थिए ।

यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाबारे सरकार गम्भीर रहेको बताएका छन् । आइतबार संसद बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री प्रचण्डले आफूले जाँचबुझ आयोगको प्रतिवेदन बुझ्न नपाएको र बुझेपछि अध्ययन गरेर मन्त्री ज्वाला दोषि ठहरिएको भए तत्काल कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले भने – ‘अहिलेसम्म मैले प्रतिवेदन हेरेको छैन । आज क्याबिनेट पनि बस्दैछ; अध्ययन गरेपछि आवश्यक परे कारबाही गर्छु ।’

बालकुमारी घटनाबारे जाँचबुझ गर्न बनेको आयोगले शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?