साझा कथा । मन्दिरहरुको देश हो नेपाल । धर्ममा आस्थावान विश्वभरका भक्तजनलाई नेपालमा आकर्षण गराउने एक शक्तिशाली माध्यम हो मन्दिर । हिन्दूहरुको आराध्यदेव पशुपतिनाथदेखि बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र लुम्विनीसम्म यही नेपालमा पर्दछ ।
यस्ता विश्वप्रख्यात देवीदेवतासहित अनेक रुपधारण गरेका देवदेवी र मठमन्दिरका कारण पनि नेपाल विशिष्ट छ । यस्तै अलग्गै विशेषता बोकेको शक्तिपीठ हो ‘आलमदेवी’ । स्याङ्जा जिल्लाको कालिगण्डकी गाउँपालिका वडा नं. ३ स्थित लसर्घा गाउँमा रहेको ‘आलमदेवी’ मूर्ति विनाको देवी र छानो विनाको मन्दिर भएको आश्चर्यजनक तीर्थस्थल हो ।
परापूर्वकालमा देवतालाई भुँईमा राख्न नमिल्ने हुँदा भीमसेनपातीको रुखमा झुण्डाउने प्रचलन थियो । सोही प्रचलन अनुरुप देवतालाई रुखमा झुण्ड्याएर राख्दा एकदिन देवता भुईँमा खसेर अलप भएको हुनाले यसलाई ‘अलप भएकी देवी’ भन्ने गरिन्थ्यो । पछि ‘अलप भएकी देवी’ भन्दाभन्दै अपभ्रंस भई आलमदेवी हुन गएको भन्ने जनश्रुति छ ।
विसं १३५० मा स्थापना भएको यो मन्दिर शाह वंशको कूलदेवताको रुपमा परिचित छ । जहाँ सानो माटोको थुम्कोलाई नै पवित्र शक्तिको प्रतिकका रुपमा पूजा गर्ने गरिन्छ । यो मन्दिरको मूलढोका उत्तरतर्फ फर्किएको छ । यस मन्दिरको अर्को रोचक पक्ष मन्दिरका पुजारी मास्की मगर कुलको कुमार केटो मात्रै हुने परम्परा छ ।
मन्दिरको प्राचीनता सम्बन्धमा विसं १८४३ मा श्री ५ रणवहादुर शाहले नगरा र कर्णाल सहित यो मन्दिरमा ताम्रपत्र चढाएको इतिहास छ । कालिगण्डकीले चारैतिरबाट घेरेका र डाँडामा रहेकाले यसको धार्मिक महत्व विशिष्ट छ । वडादसैं तथा चैत्राष्टमीमा पञ्चबली सहितको पूजा हुने यस मन्दिरमा दसैंको नौरथाभरी रुद्री/चण्डी पाठ गरिन्छ ।