साझा कथा । एक जमाना थियो जतिखेर दुर्गम गाउँमा विकासका कुनै पनि पूर्वाधारहरु पुगेका थिएनन् । दुई दशकसम्म स्थानीय निकायको निर्वाचन हुन नसक्दा विकास झनै शून्यजस्तै थियो । गाउँगाउँमा सडक पुग्न सकेको थिएन, सञ्चार पूर्वाधारबाट टाढा थियो गाउँ, विजुली नहुँदा टुकीको भरमा चल्थ्यो गाउँवासीको दैनिकी, ठूलाठूला अस्पताल र विद्यालयहरु कल्पनामा मात्रै हुन्थे । भरथेग खानेपानी र सिँचाईको सुविधा केही गाउँहरुमा थियो । विकासका पूर्वाधारहरु बन्न नसक्दा गाउँमा बस्नेहरुको दैनिकी कठिन थियो । तसर्थ, गाउँवासीहरु सहर पस्ने र विदेश हिड्नेक्रम बढ्दो थियो ।
देशले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था र २०७४ सालको स्थानीय तहको निर्वाचन पछि एक किसिमले भन्ने हो भने गाउँगाउँमा सिंहदरबार छिरेको छ । आफ्नै घरआँगनमा सरकार भेटिन थालेको छ । विकासले यसरी गति लियो कि सडह सञ्जालले नछोएको गाउँ भेटिन अब मुस्किल पर्छ । तर, मोटर पुगेको गाउँ अहिले रित्तो भेटिन थालेको छ । ढुंगाले छाएका, रातो/सेतो माटोले पोतेका चिटक्कका घरहरुमा ताला लगाएको भेटिन्छ, करेसाबारी र खेतियोग्य जमिनमा बनमारा फूलेको देखिन्छ । एक हिसाबले हेर्ने हो भने सुविधा गाउँ छिरेको छ, गाउँवासी विदेश र सहर पसेका छन् ।
यस्तै उदाहरणका केही गाउँ पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ मा पर्ने दिच्याम, निस्कोट, रुम र देविस्थान । करिब डेढ दशक अघिसम्म म्याग्दीका यी गाउँहरु रमाइला दखिन्थ्ये । गाउँघरमा वरपर, तलमाथि बस्ती बाक्लो थियो । सबै घरमा मानिस भरिभराउ हुन्थे । चाडपर्वमा गाउँमा छुट्टै रौनक र उल्लासमय वातावरण हुने गर्दथ्यो । साथीभाइको ठूलो जमघट हुने गर्दथ्यो । दसैँ तथा विभिन्न मेलामहोत्सवमा गाउँ भरिभराउ देखिन्थ्यो । तर अहिले अवस्था फेरिएको छ।
भरिभराउँ हुने गाउँका घरहरु भत्किएर खण्डहरमा परिणत भएका छन् । फराकिलो आँगनमा पाती र बनमारा उम्रिएको छ । करेसाबारी स्याल र बाँदर लुक्ने झाडी बनेका छन् । घर नजिकै अमिलो, अम्बा, कागती र सुन्तलाका बोटहरु मलजल र स्याहार नपाएर सुक्न थालेका छन् । हिजोआज गाउँको स्वरुप बिग्रिएको छ । रमाइला गाउँहरु अहिले उराठिला बन्दै जान थालेका छन् ।
मलिका–६ का टेकबहादुर सिउथानीले भने, ‘संघीयताको मर्मअनुसार विकेन्द्रीकरणको नीति गाउँमा पुगेको छ । विकासका कारण विकट गाउँ सुगम बनेका छन् । पहरा फोरेर बनाइएका सडक हुँदै गाउँमा गाडी गुडेका छन् । सहरबजारका भन्दा पूर्वाधार सम्पन्न विद्यालयहरु गाउँमा ठडिएका छन् । स्वास्थ्यचौकी गाउँमै छन् । सञ्चारको सुविधा पुगेको छ । तर पनि गाउँमा बस्ने मानिसहरु घट्दै गएका छन् ।’
विसं २०६८ मा एक घर परिवार भित्र चार दशमलव शून्य नौ जनाको परिवार रहेकामा केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को नतिजामा तीन दशमलव ६७ जना मात्र बस्ने गरेको देखिन्छ ।
ग्रामिण क्षेत्रबाट सुविधाको खोजीमा बाहिरिनेको संख्या उकालो लागेको जनगणना कार्यालय म्याग्दीले जनाएको छ । जिल्लास्थित जनगणना कार्यालयले सार्वजनिक गरेको एक तथ्यांक अनुसार भारत सहित तेस्रो मुलुकमा म्याग्दीबाट कुल विदेशिनेको संख्या १० हजार सात सय १३ रहेको छ । जसमा पुरुष आठ हजार आठ सय ४३ र महिला एक हजार आठ सय ७० रहेको छ ।
अहिले गाउँको अवस्था मौसमी बनेको छ । चाडपर्व र प्राकृतिक विपत्तिमा मात्र सहर वा विदेशबाट मानिसहरु गाउँ फर्कने गर्दछन् । गाउँमा बसुन्जेलसम्म गाउँको विकास र राजनीतिको विषयमा निकै चिन्तित भएको देखाउँछन् । फर्केपछि गाउँलाई चटक्कै बिर्सन्छन् । सहर वा विदेश निर्वाचनका समयमा आउनेले गाउँमा रहेका आफन्त र सोझासाझा जनतालाई भ्रममा पर्ने गरेको अनुभव रहेको मङ्गला–४ का झकबहादुर विश्वकर्माले बताउँछन् ।
बसाइँसराइका कारण ग्रामिण क्षेत्रका विद्यालयमा विद्यार्थीको संख्यामा पनि कमी हुँदै गएको छ । ‘युवाहरू विदेशमा छन् । अशक्त वृद्धवृद्धाको सेवा गर्नेको समेत कमी छ,’ रघुगङ्गा गाउँपालिका–६ का वडाध्यक्ष मनकुमार शेरपुञ्जाले भने । गाउँघरसँगै यहाँका विद्यालयमा पनि विद्यार्थीको कमी हुन थालेको उनको भनाइ थियो । उनले गाउँमा मलामी जानेको समेत अभाव खड्किन थालेको तीतो अनुभव पनि सुनाए ।
म्याग्दीमा २०६८ सालको जनगणना अनुसार एक लाख १३ हजार ६ सय ४१ जना जनसंख्या रहेकामा २०७८ को नतिजामा एक लाख सात हजार ३ सय ७२ जना उल्लेख गरिएको छ ।