वाफ च्याम्पियनसिपः प्रिती राईको प्रीटी गोलमा पुग्यो फाइनलमा नेपाल (तस्विरसहित)

साझा कथा । इन्ज्युरी समयमा प्रिती राईले गरेको सुन्दर गोलसँगै नेपाल लेबनान विरुद्ध पुनरागमन जित दर्ता गर्दै पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

खेलको पहिलो हाफमा आत्माघाती गोल मार्फत १–० ले पछि परेको अवस्था उल्ट्याउँदै नेपालले प्रितीको गोलको मद्दतमा २–१ को जित दर्ता गरेको हो । खेल १–१ को बराबरीमा रहेको अवस्थामा नेपालले कर्नर किक पाएको थियो । विमला चौधरीले खेलेको कर्नर किक क्लियर भएपछि बक्स बाहिरबाट प्रितीले गरेको प्रहारले जालि चुमेको थियो ।

त्यसअघि निकै संघर्ष पश्चात ७६औं मिनेटमा नेपालले अन्ततः बराबरी गोल गर्न सफल भयो । रश्मीको पासमा साम्बाको पहिलो प्रहार लमिटाले बचाएपछि डिफेन्डर अमिना करिमले क्लियर नगरेपछि साम्बा आफैले मौकाको फाइदा उठाउँदै गोल गर्न सफल भइन् । ३८औं मिनेटमा नेपालले खेलमा गोल खान पुगेको थियो । पूजा रानाले गोलकिपर एन्जिलाको लागि खेलेको ब्याकपास उनीभन्दा धेरै टाढा रहेपछि बल सिधै पोस्टमा गएको थियो ।

नेपालले अब फाइनलमा जोर्डनको सामना गर्नेछ । जोर्डनले पहिलो सेमिफाइनलमा प्यालेस्टाइन माथि जित निकाल्दै फाइनल प्रवेश गरेको हो । जोर्डन साविक विजेता हुनुका साथै प्रतियोगिताको ५ पटकको विजेता हो । नेपालले समूह चरणमा तीन वटै खेलमा जित दर्ता गर्दै समूह विजेता बनेर सेमीफाइनल प्रवेश गरेको हो ।

 

 

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?