साझा कथा । नेपाली महिला राष्ट्रिय फुटबल टोली आज पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने लक्ष्यसहित आज राति पौने १० बजे मैदानमा उत्रदैछ । ३८ वर्षको यात्रामा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले यसअघिका १० फाइनल पुग्दा सबैमा उपविजेतामै सिमित रहदै आएको छ । आजको फाइनल नेपाली महिला फुटबल टोलीको ११ औं फाइनल खेल हो । नेपाली टोली समूह चरण र सेमिफाइनलमा देखाएको उत्कृष्ट खेल कौशललाई फाइनलमा पनि निरन्रता दिँदै उपाधिबिहीन यात्रामा पूर्णबिराम लगाउने दाउमा छ ।
तर प्रतियोगिताको बलियो टोली जोर्डनविरुद्धको खेल भने नेपालका लागि पक्कै पनि सहज हुने छैन । साउदी अरबको प्रिन्स अब्दुल्लाह अल फैसल स्पोट्र्स सिटी रङ्गशालामा हुने फाइनलमा दुवै टोली उपाधिका उत्तिकै दाबेदार मानिएका छन् । त्यसैमाथि टोलीको मुख्य खेलाडी सावित्री भण्डारी (साम्बा)को अनुपस्थितिको भरपाई सहज नहुनसक्छ । नेपाली टोलीलाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेकी साम्बाको ठाउँ कस्ले लिने भन्ने चिन्ता पनि थपिएको छ ।
नेपालले खेलेका यसअघिका खेलमा साम्बाको ठूलो भूमिका थियो । समूह चरण र सेमिफाइनल गरी भएका चार खेलमा नेपालले कूल १५ गोल गर्दा दुई गोल खाएको थियो । नेपालले गरेका १५ मध्ये नौ गोल साम्बा एक्लैले गरेकी थिइन् । प्रतियोगितामा नेपालको यो पहिलो सहभागिता हो । जोर्डनले पनि प्रतियोगिताका यसअघिका खेलामा उत्कृष्ट खेल प्रदर्शन गरिसकेको छ । सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० गोल अन्तरले पराजित गरेको जोर्डनले जारी प्रतियोगितामा विपक्षी चार टोलीको पोस्टमा १३ गोल गरेको छ भने जम्मा एउटा गोल खाएको छ । प्रतियोगिताको आफ्नो पहिलो खेलमा जोर्डनले साउदी अरेबियाविरुद्ध एक गोल खाएको थियो ।
जोर्डन वाफ च्याम्पियनसिपको पछिल्लो तीन संस्करणसहित पाँच पटकको विजेता टोली पनि हो । विश्व वरियतामा नेपाल जोर्डनभन्दा ३१ स्थानमाथि छ । जोर्डन ७४औँ स्थानमा छ भने नेपाल एक सय पाँचौ स्थानमा छ । नेपाल र जोर्डन जारी प्रतियोगिताका अपराजित टोली हुन् । सेमिफाइनलमा नेपालले लेबनानलाई २–१ गोलअन्तरले पराजित गरेको थियो भने जोर्डनले प्यालेस्टाइनलाई ५–० ले हराएको थियो । दुवै समूह चरणमा पनि अपराजित थिए । जोर्डनले समूह चरणमा साउदी अरेबियालाई ३–१ ले, ग्वामलाई ३–० र लेबनानलाई २–० ले पराजित गरेको थियो । साथै नेपालले सिरियालाई ४–१, इराकलाई ५–० र प्यालेस्टाइनलाई ४–०ले पराजित गरेको थियो ।
नेपाली टोलीमा गोलरकिपरमा कप्तान एन्जिला तुम्बापो सुब्बासँगै उषा नाथ र अञ्जना राना मगर छन् भने डिफेन्डरमा गीता राना, हिराकुमारी भुजेल, बिमला विक, अमृता जैशी, निशा ठोकर, समिक्षा घिमिरे, पुजा राना र सबिना चौधरी छन् ।
त्यसैगरी मिडफिल्डरमा अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रिती राई, दीपा शाही, बिमला चौधरी र सरस्वती हमाल छन् । फरवार्डमा चन्द्रा भण्डारी, रेखा पौडेल, रश्मि कुमारी घिसिङ्ग र सबिता राना मगर छन् ।