साझा कथा । सत्ता गठबन्धन भत्किएर अहिले नयाँ गठबन्धनको समीकरण निर्माणकाको लागि प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा बसेको तस्विर सार्बजनिक भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलका शीर्ष नेता सहभागी भएका छन् ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहभागी छन् । त्यस्तै माओवादी नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल सहित बालुवाटार बैठकमा सहभागी भएका छन् । नेताहरूबिच आजै नयाँ मन्त्रिमण्डल पुनर्गठन गर्नेबारे छलफल भएको स्रोतले बताएको छ ।
बालुवाटारमा जारी नेकपा माओवादी केन्द्रको पदाधिकारी र बालकोटमा जारी नेकपा एमालेको सचिवालय बैठकका छुट्टा छुट्टै स्रोतहरूका अनुसार आजै नयाँ मन्त्रिमण्डल बन्ने सम्भावना देखिएको छ । यता एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले आफ्नो सामाजिक सञ्जाल ट्विटरमा स्ट्यास लेख्दै आज आजै सानो आकारको मन्त्रीमण्डल बन्ने जानकारी गराएका छन् ।
नेताहरूका अनुसार नयाँ गठबन्धनमा एमाले, माओवादी, रास्वपा, जसपा, जनमत र नाउपा समेटिने लगभग पक्का भए पनि अन्तिम निर्णय गर्न बाँकी रहेको स्रोतले जनाएको छ । गएराति अबेरसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलमा सत्ता गठबन्धन परिवर्तनबारे कुराकानी र सहमति भएको जानकारी आएको छ ।
प्रतिनिधि सभामा एमालेका ७९, माओवादी केन्द्रका ३२ र रास्वपाका २१ जना सांसद छन् । सरकार बनाउन तीन दलको संख्या पर्याप्त छैन । सरकार निर्माणमा लागि १३८ जना सांसद आवश्यक पर्छ।
गएराति दलहरूबीच नेकपा एकीकृत समाजवादी बारे पनि कुराकानी भएको थियो । छलफलमा माधवकुमार नेपालले चाहेमा यो गठबन्धनमा रहन सक्ने र समाजवादीका लागि पनि मन्त्री छुट्याउन सकिने समझदारी बनेको थियो । जनता समाजवादी पार्टी भने सरकारमै रहने निश्चित जस्तै छ। प्रतिनिधि सभामा जसपाका १२ सांसद छन ।