साझा कथा ।
माङसेबुङ गाउँपालिका–१ इलामका याम कार्कीले व्यावसायिक बाख्रापालनबाट वार्षिक ८ देखि १० लाखसम्म आम्दानी गर्दै आएका छन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर उत्तीर्ण गरी १० वर्ष शिक्षण पेसामा बिताएका उनले गाउँ फर्केर व्यावसायिक बाख्रापालन थालेका हुन् ।
उनी माङसेबुङ गाउँपालिका–१ स्थित गजुरमुखीमा विगत सात वर्षदेखि व्यावसायिक बाख्रा फार्म सञ्चालन गर्दै आएका छन् । काठमाडौँमा शिक्षण पेसा गर्दै आएका उनले २०७३ सालमा शिक्षण पेसा छाडेर ‘इलाम एग्रो फार्म’ सुरु गरेका हुन् । उनको फार्म अहिले नमूना फार्मका रूपमा परिचित छ । व्यावसायिक बाख्रापालन गरी गाउँमै धेरै आम्दानी गर्ने किसानका रूपमा समेत परिचित छन् ।
देशकै राजधानीमा लामो समय बिताउँदासमेत जीविकोपार्जनमा समस्या भएपछि आफ्नै गाउँ फर्केर सात वर्षदेखि बाख्रापालन गर्दै आएको कार्कीले बताए । ‘दश वर्षसम्म काठमाडौँका विभिन्न कलेजमा पढाएँ तर सोचेजस्तो आम्दानी गर्न सकिनँ, सहरमा दुःख गर्नुभन्दा आफ्नै गाउँमा केही गर्छु भनी गाउँ फर्केर सात वर्षदेखि यहाँ बाख्रापालन गर्दै आएको छु’, उनले भने, ‘वार्षिक ८ देखि १० लाखसम्म कमाइरहेको छु, यो व्यवसायबाट राम्रो आम्दानी भइरहेको छ।’
उनले सहरमा बगाउने पसिना गाउँमा नै बगाए गाउँलाई पनि योगदान पुग्ने र जीविकोपार्जनमा समस्या नहुने बताए । उनले व्यवसायमा निरन्तरता दिए गाउँमा बसेर राम्रो आम्दानी गर्न सकिने समेत बताए ।
उनले सञ्चालन गरेको फार्ममा अफ्रिकन बोयर, खरी र जमुनापारि जातका माउ, ब्याड बोका र पाठापाठी गरी एक सयको हाराहारीमा बाख्रा रहेका छन् । त्यहाँ उत्पादित बाख्रा खपतका लागि बजारको समेत कुनै समस्या छैन । व्यापारीहरू बाख्रा र पाठापाठी खरिद गर्न फार्ममा आउने गरेको उनले बताए । उनले गाउँमा सम्भावना नदेखेर विदेश लाग्नेहरूका लागि उदाहरण बन्न सकिन्छ कि भनेर जागिर छाडेर बाख्रापालन सुरु गरेको बताए ।
उनको फार्ममा दुईजना युवालाई रोजगारी दिएका छन् । आफू र आफ्नो परिवारका सदस्यबाहेक दुई जना कामदारलाई रोजगारी दिएको उनले बताए । ‘फार्ममा हामी आफैँ पनि खट्ने गरेका छौँ, त्यसबाहेक दुई युवालाई कामदारका रूपमा रोजगारी दिएको छु’ उनले भने, ‘आफू स्वरोजगार भई अरुलाई समेत रोजगारी दिन पाउँदा आनन्द लाग्दोरहेछ । म आफ्नो व्यवसायबाट सन्तुष्ट छु उनले भने ।
उनले सरकारबाट समेत सहयोग राम्रै पाएका छन् । उनको फार्मले प्रोत्साहनस्वरुप तीन वर्षअघि तत्कालीन प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट व्यावसायिक नमूना बाख्रा फार्म कार्यक्रमअन्तर्गत ७ लाख अनुदान पाएका थिए। सो अनुदानबाट आधुनिक खोर निर्माण गरेका छन् । ब्याड बोका, माउ बाख्रा, खसी, बोका एवं पाठापाठी राख्ने खोर अलगअलग बनेको छ ।
बाख्रापालनका अलावा उनले व्यावसायिक कफीखेतीसमेत गर्दै आएका छन् । साठी रोपनी जग्गामा अराविका नामक छ हजार कफीको बिरुवा लगाएका छन् ।