साझा कथा । महाशिवरात्री अथवा शिवरात्री हिन्दु धर्मावलम्बीहरुको एक विशेष चाड हो । भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्री मध्ये एक पवित्र पर्वका रूपमा बिभिन्न पुराणहरूमा वर्णित छ।
फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष (छिटै खुसी हुने) भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ। व्रत उत्सव मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रीका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरि व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र भगवानलाई चढाउने गर्दछन्।
यस पर्वका दिन उपवास गरी ‘ॐ नमः शिवाय’ मन्त्र जप गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ। ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्री पर्व कृष्ण चतुर्दशीमा मनाइन्छ। निर्जल व्रत, रात्री जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दूधको अभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन्। शिवरात्री पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रीको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भन्ने मान्यता जनमानसमा रहेको छ ।
शिवरात्री पूजामा व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ भने जागरण कालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ। पूजन वा शिवार्चनमा इशान मूर्तिलाई दूधले स्नान गराइन्छ। फाल्गुण कृष्ण चतुर्दशीमा मनाइने यस पर्वमा सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्रि कालमा भगवान् शङ्कर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए भन्ने धार्मिक विश्वास रहेको छ। प्रलयकालमा यसै दिन प्रदोषको समयमा भगवान शिव ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्नेछन् भन्ने मान्यता पनि पुराणमा पाइन्छ ।