Ad Banner

‘सबैका लागि टेनिस, सधैँका लागि टेनिस’

साझा कथा । गण्डकी प्रदेशमा बालबालिकाका लागि टेनिस प्रशिक्षण सञ्चालन गरिएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत बालबालिकाका लागि टेनिस प्रशिक्षण ‘सबैका लागि टेनिस, सधैँका लागि टेनिस’ नाराका साथ प्रशिक्षण सुरु भएको हो । यसबाट युवा प्रतिभाको पहिचान गर्न थप सहज हुने अपेक्षा गरिएको छ ।

पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा गण्डकी प्रदेश टेनिस सङ्घको समन्वय तथा कास्की जिल्ला टेनिस सङ्घको प्राविधिक सहयोगमा शनिबारदेखि कार्यक्रम सुरु भएको हो । बालबालिकाका लागि आयोजना गरिएको यो कार्यक्रम दुई महिना सञ्चालन हुनेछ । मोबाइलमा रमाउने बालबालिकालाई खेलमैदानसम्म ल्याएर प्रतिस्पर्धी खेलाडी उत्पादनको लक्ष्य राखिएको गण्डकी प्रदेश टेनिस सङ्घका सचिव नवीन चालिले जानकारी दिए । प्रशिक्षण कार्यक्रममा छदेखि १६ वर्ष सम्मका २५ बालबालिकालाई सहभागिता गराइएको छ ।

गण्डकी प्रदेश टेनिस सङ्घका अध्यक्ष विनोद कायस्थले गण्डकीको टेनिस खेलमा विगतको इतिहासले विपन्न वर्गका बालबालिकाबाटै सुरु भएकाले यस कार्यक्रममार्फत पहिलोपटक सोही वर्गका बालबालिकालाई समेटिएको बताए । “खेल्छ गण्डकी कार्यक्रम एक महत्त्वपूर्ण कार्यक्रम हो । यो कार्यक्रममार्फत समाजमा पछि परेका बालबालिकालाई टेनिस मैदानसम्म ल्याएर राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य लिएका छौँ”, उनले भने ।

यो पढ्नु भयो ?