गठबन्धन तोडेर ‘प्रचण्ड’ले मतदातालाई ठूलो धोका दिएः उपसभापति खड्का

साझा कथा । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेससँगको गठबन्धन तोडेर माओवादीले मतदातालाई ठूलो धोका दिएको बताएका छन् ।

आइतबार नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ सुर्खेतको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै उपसभापति खड्काले भने “यसपटक नेपाली कांग्रेसलाई मात्र होइन्, निर्वाचनका बेला मतदातालाई दिएको बचनबाट माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट राजनीतिक रुपमा ठूलो धोका भएको छ, यसको जवाफ आम मतदाताले समय आउँदा अवश्य दिनेछन् ।

उपसभापति खड्काले तीन तहका सरकार बनाउँदा जनतासँग गरिएका बाचाका विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए । “कांग्रेससँगको गठबन्धन तोड्नुको कारण राजनीतिक दृष्टिकोणले प्रचण्डले आफ्ना धारणा राख्नुहोला”, उनले भने, तर, तीन तहका सरकार बनाउँदा निर्वाचनका बेला जनतासँग गरेका बाचाको जवाफ उनले दिनुपर्छ ।

उनले निर्वाचनका बेला संविधानले जनतालाई दिएको अधिकार कार्यान्वयन गर्ने, आवश्यक कानुन निर्माण गरेर संघीयता कार्यान्वयन गर्ने, पाँच वर्षमा आम मतदातालाई उन्नति र प्रगतिको बाटोमा अघि बढाउने बाचा गरेर जनतासँग मत मागिएको स्मरण गरे । साथै, असंवैधानिक तरिकाले पटक–पटक संसद् विघटन गर्ने, संघीयता कार्यान्वयन नगर्ने, संविधानलाई गलत बाटोतर्फ लैजाने, लोकतन्त्रलाई अन्य दिशातर्फ मोड्न थालिएपछि संविधानको रक्षा, संघीयता कार्यान्वयन र मुलुकको आर्थिक उन्नति र प्रगतिका लागि विचार मिल्ने राजनीतिक शक्तिहरु प्रतिगमनका विरुद्ध मिलेर तीनै तहको निर्वाचनमा जनतासँग मत मागिएको समेत उल्लेख गरे ।

यस्तै ‘संविधानलाई सही दिशामा ल्याउनका लागि पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा प्रतिगमनका विरुद्धमा विचार मिल्ने पार्टीहरूको सडक आन्दोलन र संवैधानिक सङ्घर्षमार्फत संसद्लाई पुनर्स्थापित गर्दै ती उद्देश्यमा सहमत भएका दलबिच राजनीतिक गठबन्धन गरिएको थियो,’ उनले भने । उपसभापति खड्काले पार्टीको नीति अधिवेशन ऐतिहासिक रुपमा सम्पन्न भएको र महासमितिबाट आएका सुझावहरुलाई समेट्दै चाँडै केन्द्रीय समिति बैठकमार्फत पारित गरेर पुस्तकका रुपमा प्रकाशन गरेर देशभरी पठाउने बताए, उनले थपे “नीति अधिवेशनमार्फत पारित प्रस्तावहरुलाई आम जनतामाझ लिएर जानेछौं र समुदायसँग कांग्रेस अभियानलाई फेरि सुरु गरिने समेत बताए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?