Ad Banner

कलाकारले सबै किसिमको भूमिकामा आफुलाई देखाउँन सक्नुपर्छ- कलाकार आचार्य

साझा कथा । गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र पुरस्कार विजेता बने ।

आदर्श पुरुष र सरल छवि निर्माण गरेका अभिनेता आचार्य पर्दामा पनि त्यस्तै भूमिका निर्वाह गर्छन् । तर, यसपटक उनले आगामी चलचित्र ‘महाजात्रा’ मा राजनीतिज्ञको भूमिका निर्वाह गरेका छन् । सेवा भावभन्दा अनैतिक कार्यलाई प्रश्रय दिने नेताको भूमिका निर्वाह गरेका अभिनेता आचार्यले सकारात्मक र नकारात्मक दुवै भूमिकाले अभिनयलाई पूर्ण बनाउने बताए ।

चलचित्र ‘महाजात्रा’ को प्रचारप्रसारमा सहभागी भएका आचार्यले सञ्चारकर्मीसँग कुराकानी गर्दै अभिनेताका रुपमा आफू एकै किसिमको भूमिकामा समेटिन नचाहेको जानकारी दिए । “म र मैले अभिनय गर्ने पात्र फरक हुन् । सोही कारण मेरो निजी जीवन पात्रमा नआओस् भन्ने चाहन्छु । त्यहीअनुरूप मैले अभिनय गर्ने गरेको छु । यसपटक मैले नेताको भूमिकामार्फत् भइरहेको विकृति र त्यसले पारिरहेको असरलाई प्रस्तुत गरेको छु । यसले नकारात्मक पक्षबारे आम दर्शकलाई प्रष्ट्याउँछ”, अभिनेता आचार्यले भने ।

अभिनेता आचार्यले ‘महाजात्रा’ कलात्मक र व्यावसायिक दुवै पक्षलाई ध्यान दिएर तयार गरिएको बताए। किनकि उनी सफल हुन कलाको प्रशंसासँगै व्यावसायिक सफलता पनि अनिवार्य हुने विचार राख्छन् । निर्देशक भट्टराईले अभिनेता आचार्यमा रहेका सम्भावना व्यक्तिगत जीवनका कारण समेटिनु हुँदैन भन्नेमा जोड दिए ।

चलचित्रमा अभिनेता आचार्यसँगै विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, दिव्य देव, राजाराम पौडेल, प्रकाश घिमिरे, गौमाया गुरुङ, अरविन खड्कालगायतका कलाकारले अभिनय गरेका छन् । दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गरेका चलचित्र आउँदो चैत ९ गतेदेखि नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुँदैछ ।

यो पढ्नु भयो ?