साझा कथा । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ ।
शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज ग्याल्पो ल्होसार मनाउँन लागेका हुन् । भोट भाषाको दाथोक पात्रोअनुसार फाल्गुण शुक्ल प्रतिपदाका दिनदेखि शेर्षजातिको नयाँ वर्ष सुरु हुन्छ ।
नयाँ वर्षका रूपमा शेर्पा समुदायले आज २१५१औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरूपमा मनाइन्छ । त्यसैगरी बौद्ध महायानी धर्मावलम्बीहरूले आजै सोनम ल्होसार मनाउँदैछन् । यो वर्ष सोनाम ल्होसार र ग्याल्पो ल्होसार एकैदिन परेको छ । सरकारले दुबै ल्होसारको अवसरमा आज सार्वजनिक बिदा दिएको छ।
ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो । विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्बो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो ।