राष्ट्रियसभा अध्यक्षमा सत्तागठबन्धनबाट दाहाल र कांग्रेसका शर्माको उम्मेदवारी

साझा कथा । राष्ट्रियसभाको अध्यक्ष पदका लागि सत्तागठबन्धन र विपक्षी दलका तर्फबाट आज उम्मेदवारी दर्ता भएको छ ।

सोमबार बिहान संघीय संसद भवन नयाँ बानेश्वरमा निर्वाचन प्रक्रियाअन्तर्गत सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का सांसद नारायण दाहाल र नेपाली कांग्रेसका सांसद युवराज शर्माले उम्मेदवारी दर्ता गरेका हुन् । दाहालको प्रस्तावकमा सोही पार्टीका सांसद गोपीबहादुर अछामी र समर्थकमा नेकपा (एमाले) का सांसद देवेन्द्र दाहाल, नेकपा (एकीकृत समाजवादी) का सांसद बेदुराम भुसाल र जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिद रहेका छन् । उम्मेदवार शर्माको प्रस्तावकमा नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा कांग्रेसकै सांसद किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका किशोरकुमार सिंह रहेका छन् ।

राष्ट्रिय सभामा माओवादीका १८ सांसदसहित सबैभन्दा ठूलो पार्टी छ । एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३ जना सांसद छन् । यही फागुन २९ गते हुने सो निर्वाचनका लागि आज दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम निर्धारण गरिएको थियो । तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल यही फागुन २० गते सकिएको थियो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?