साझा कथा । राष्ट्रियसभाको अध्यक्षमा माओवादी केन्द्रका नेता नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । आज भएको राष्ट्रियसभाको अध्यक्ष निर्वाचनमा कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै दाहाल विजयी भएका हुन् ।
राष्ट्रियसभाको अध्यक्षमा भएको निर्वाचनमा माओवादीको १८, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ गरी दाहालले ३९ प्राप्त गरेका थिए । दाहाललाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी दलको समर्थन रहेको थियो ।
यसैगरी, कांग्रेसका शर्माले कांग्रेसको १६ र लोसपाका एक गरी १७ मत प्राप्त गरेका थिए । राषट्रियसभामा भएको निर्वाचनमा जम्मा ५६ मत खसेको थियो भने राष्ट्रिय जनमोर्चाका एक सांसदले कुनै पनि पक्षलाई मत दिएनन् ।
को हुन् नारायण दाहाल ?
राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित भएका नारायणप्रसाद दाहालको जन्म विसं २०१२ साल चैत १६ गते कास्कीको ढिकुरेपोखरीमा भएको हो । उनी बुबा कुलप्रसाद दाहाल र आमा देउरुपा दाहालको जेठो सन्तान हुन् । प्रधानमन्त्री प्रचण्डका भाइ भनेर चिनिएका नारायण दाहाल र प्रचण्डका हजुरबुबा भने सहोदर दाजुभाइ हुन् । यसअर्थमा नारायण दाहाल प्रचण्डका काकाका छोरा हन् ।
प्रचण्डका बुबा र नारायणका बुबा कास्कीको ढिकुपोखरीबाट एकै दिन २०१९ सालमा पाँच कट्ठा जमिन किनेर चितवन बसाइँ सरेका थिए । बाल्यकालदेखि नै कम्युनिष्ट पार्टीप्रतिको आस्था राखेका दाहाल विद्यार्थी जीवनमै पार्टीको सक्रिय सदस्यका रुपमा क्रियाशील भएका थिए ।
विसं २०२७ जेठ १ मा विद्यार्थी दिवसका अवसरमा अनेरास्ववियूद्वारा आयोजित कार्यक्रममा नेपाल कम्युनिट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै दुई घन्टा हिँडेर जुलुस र कार्यक्रममा सहभागी भएका दाहाल दाजुभाइ दुवैले सोही दिन सँगै अनेरास्ववियूको सदस्यता लिएका थिए । माध्यमिक विद्यालय पढ्दै अनेरास्ववियूमा आबद्ध दाहालले २०३१ सालमा वीरेन्द्र क्याम्पस भरतपुरमा अध्ययन गर्न थालेपछि नेपाल कम्युनिष्ट पार्टी पुष्पलाल समूहको पार्टी सदस्यता लिए ।
विसं २०३६ मा स्नातक तह उत्तीर्ण गरेपछि एरिया पार्टी कमिटीको कोषाध्यक्ष चयन भए । सो कमिटीमा एक वर्ष काम गरेका दाहाललाई मोहनविक्रम सिंहको सल्लाहअनुसार नै पूर्णकालीन सदस्य भई भारत प्रवासको जिम्मेवारीमा काम गर्न पुगेका थिए । अखिल भारत नेपाली एकता समाजको केन्द्रीय सह–सचिव, कोषाध्यक्ष र सचिव हुँदै २०३८ सालदेखि समाजको केन्द्रीय सचिव हुँदै दोस्रो सम्मेलनपछि महासचिव र अध्यक्षको जिम्मेवारी बहन गर्दै दाहाल पार्टी सङ्गठन विस्तारमा समर्पित रहे ।
नवनिर्वाचित अध्यक्ष दाहालले २०५७ सालदेखि पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्दै विभिन्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए । उनी २०६३ मा व्यवस्थापिका–संसद् सदस्यका रुपमा रहेका थिए । विसं २०६४ को संविधानसभा सदस्यको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट संविधानसभा सदस्यमा निर्वाचित बनेकाका दाहालले नेपालको ऐतिहासिक संविधानसभामार्फत समाजवाद उन्मुख संविधान निर्माणमा महत्वपूर्ण योगदान पुर्याए ।
अध्यक्ष प्रचण्डको दोस्रो प्रधानमन्त्रीकालमा दाहालले प्रधानमन्त्री कार्यालयमा प्रमुख प्रशासनिक सल्लाहकारको भूमिकासमेत सम्हालेका थिए । हाल नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०को स्थायी समिति सदस्यसमेत रहेका दाहाल २०७८ साल चैत २५ गते राष्ट्रपतिबाट मनोनित भई राष्ट्रियसभा सदस्य बनेका थिए ।