Ad Banner

प्रधानमन्त्री ‘प्रचण्ड’ले पाए विश्वासको मत

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् । प्रचण्डले प्रतिनिधिसभामा तेस्रोपटक विश्वासको मत पाएका हुन् । प्रतिनिधिसभामा आज भएको मत विभाजन प्रकृयामा प्रधानमन्त्रीको पक्षमा १५७ मत परेको थियो । भने विपक्षमा ११० मत परेको थियो । १ जनाले मत दिएनन् । मतदानमा २६८ सांसदले भाग लिएका थिए । सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले राखेको विश्वासको प्रस्ताव पारित भएको घोषणा गरेका थिए ।

गत वर्ष १० पुसमा नेकपा एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्री भएपछि २६ पुसमा विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेपछि एमाले र राप्रपाले समर्थन फिर्ता लिएका थिए ।

सरकारलाई समर्थन दिएका दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेका कारण प्रधानमन्त्रीले साढे दुई महिनाभित्रै दोस्रो पटक २०७९ चैत ६ गतेविश्वासको मत लिएका थिए ।

२१ फागुनमा कांग्रेसँगको सहकार्य तोडेर एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको गठबन्धन बनाएका प्रचण्डलाई एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले पनि मत दिएका छन् ।

नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलगायतले विपक्षमा मतदान गरेका थिए ।

यो पढ्नु भयो ?