साझा कथा । राजनीतिमा आउनु अघि गुण्डाका नाइके भनेर चिनिने दिपक मनाङे अहिले चर्चाको शिखरमा छन् । पद र सत्ताका लागि जस्तोसुकै त्याग गर्न पछि नपर्ने मनाङे कुर्सी लोलुपताका कारण पुनः मन्त्री बन्न सफल भएका छन् ।
२०७४ मा एमालेको समर्थनमा मनाङ जिल्लाको प्रदेश (ख)बाट स्वतन्त्र रुपमा उठेर निर्वाचित भएका उनी ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्धा ब्यूँतिएपछि शपथ नै नलिई कारागार चलान भएका थिए । नयाँ फौजदारी संहिताले जेल नबसी मुद्दा लड्न पाउने सुविधा दिएपछि सर्वाेच्चको आदेशमा कारागर मुक्त भएका उनले एमाले र माओवादी मिलेर बनेको तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गर्ने गरि प्रदेशसभा सुरु भएको १४ महिनापछि सपथ लिए । तर, तत्कालीन (नेकपा) विभाजन भएपछि संकटमा परेको सरकार जोगाउन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्धा खेपिरहेका मनाङेलाई सुरुमा खेलकुदमन्त्री बनाएका थिए । तरपनि, राष्ट्रिय जनमोर्चाले साथ नदिएका कारण सरकार नटिक्ने देखेपछि मनाङे नयाँ गठबन्धन बनाउने प्रयासमा रहेका नेपाली कांग्रेस÷माओवादीतिर लागे र कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा पुनः खेलकुदमन्त्री बने । २०७४ को निर्वाचनपछि प्राप्त मत परिणामको आधारमा एक सिटले सरकार बन्ने र ढल्ने खेल चलिरहँदा मनाङे जता पद हातपर्छ उतै लम्किरहे ।
२०७९ मा भएको निर्वाचनमा दिपक मनाङे पुनः सोही ठाउँबाट निर्वाचित भए । मनाङेलाई दोस्रो पटकको निर्वाचन झनै फलिफाप भयो । चुनावै लड्न नपरेका उनी स्वतन्त्रबाट सर्वसम्मत निर्वाचत भए ।
सत्ता मोहकै कारण निर्विरोध निर्वाचित भएपछि उनी माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा प्रवेश गरे । तर, लामो समय बित्दा र हरप्रयास गर्दा पनि उनी मन्त्री बन्न भने सकेनन् । स्वतन्त्र निर्वाचित भएका मनाङे पार्टी प्रवेश गर्दा पनि मन्त्री बन्न नसकेपछि उनमा छटपटी थियो । तर, कांग्रेस÷माओवादीबीचको गठबन्धन टुटेसँगै उनलाई नयाँ अवसर आइलाग्यो कि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो सरकार टिकाउनका लागि मनाङेलाई मन्त्री पदको प्रस्ताव राखे । मन्त्री नपाएर छटपटिरहेका मनाङेले तत्काल एकीकृत समाजवादीबाट राजिनामा दिए र भोलिपल्टै भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री बने ।
आफ्नै स्वार्थ अनुकूलको करिब ७० प्रतिशतसम्म बजेट रहने मन्त्रालय पाएपछि मनाङेले भन्न थालेका छन् – ‘एक वर्षसम्म फुटबल खेलेर हिँडिरहेको थिएँ, अब ४ वर्ष मैले पनि राजनीति गर्नुपर्छ ।’