साझा कथा । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा मुछिएका नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीसँग केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबीले) बयान लिएको छ । सरकारी जग्गा हिनामिना गरेको आशङ्कामा बिहीबार बिहान सरकारी वकिलको कार्यालयमा सीआईबीले चौधरीको बयान लिएको हो । बयान सकिए लगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै सांसद चौधरीले सरकारी जग्गा हिनामिनामा आफ्नो कुनै संलग्नता नरहेको प्रतिक्रिया दिएका छन् ।
उनले जग्गा हिनामिना भएको भनेर राजनीतिकरण गरिएको आरोप लगाएका छन् । ४२ वर्षअघि बाँसबारीजस्तो अनाकण्टार ठाउको कौडीको भाउमा पनि नबिक्ने जग्गालाई आधार बनाइ त्यो बेलामा पब्लिक प्राइभेट पार्टनरसिपको उत्कृष्ट मोडलमा खडा गरिएको नवीनतम सोचलाई जुन किसिमबाट राजनीतिकरण गरियो त्यो अत्यन्त दुखलाग्दो छ सांसद चौधरीले भने । उनले एउटा उद्यमीको हैसियतले आफूले जहिले पनि विकासको राजनीति गरेको भन्दै कुनै प्रकारका दलहरूका मतभेदमा सरिक नभएको दाबी समेत गरे । १० रोपनी जग्गामा आफ्नो ग्रुपले कुदृष्टि राख्छ भनेर सोच्नु नै एउटा विकृत मानकिता उपज भएको उनको भनाइ छ । ‘४२ वर्ष अगाडि त्यो जग्गाको मूल्य कति नै पर्थ्यो होला सबैले बुझेका छन् । देशकै एक औद्योगिक ग्राम स्थापना गर्ने उद्देश्यले मुलुकभर विभिन्न परियोजना गर्ने ग्रुपले १० रोपनी जग्गाकोबारेमा कुनै पनि प्रकारको कुदृष्टि राख्छ भनेर सोच्नु नै एउटा विकृत मानकिता उपजबाहेक केही पनि होइन,’ सांसद चौधरीले भने ।
राज्यले आफू जत्तिको व्यक्तिमाथि समेत राजनीति गरिरहेको भन्दै उनले नेपाल र विश्वभर रहेका नेपाली युवा, नेपालका उद्यमी, रोजगारदाता, करदाताहरुले आफ्नो मनमा कुन सन्देश लिएर लगानी गर्दछन् भन्ने कुराको हेक्का राज्यले राख्नुपर्ने बताए। आफूले उद्यमी भएर काम गरेको ४५ वर्ष बितिसकेको भन्दै चौधरीले आफ्नो चरित्रको सर्टिफिकेट स्टन्ट गर्नेहरुलाई बुझाउन आवश्यक नरहेको उल्लेख गरे ।’ उनले यस्ता प्रकारका गतिविधिबाट निजी क्षेत्रलाई, उद्यमी र लगानीकर्तालाई विशुद्ध राखिनुपर्ने बताए । ‘राजनीति गर्न आफ्ना फोरम छन्, त्यसका आफ्ना तरिका छन् । म पनि नवलपरासी पश्चिमबाट प्रत्यक्ष निर्वाचित सांसद हुँ,’ उनले भने।
‘जबकि मैले यो विषयमा प्रश्न उठ्नेबित्तिकै र मेरो भाइ (अरूण चौधरी) माथि अनुसन्धान हुनेबित्तिकै संसदीय दलको बैठकमा आफ्ना सबै कुरा राखिसकेको थिएँ । जुन सार्वजनिकरूपमा बाहिर आइसकेको छ। यसपछि ममाथिको अनुसन्धानको कुरा चल्नेबित्तिकै सदमा उभिएर जवाफ दिएको छु,’ उनले भने ।
बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गामा सांसद चौधरीको संलग्नताबारे केही दिनयता विस्तृत छलफल भएको र त्यसकै निष्कर्षअनुसार अगाडि बढिएको सीआईबीका एक अधिकारीले बताए । कारखानाको सरकारी जग्गा हिनामिना गरेको आरोपमा सांसद चौधरीका भाइ तथा सीजी होल्डिङ्सका अध्यक्ष एवं प्रबन्ध निर्देशक अरुण चौधरीलाई सीआईबीले माघ १८ मा पक्राउ गरेको थियो ।
कपडाका जुत्ता उत्पादन गर्ने उद्देश्यले २०४३ कात्तिक २७ मा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको च्याम्पियन फुटवेयरले तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा खरिद गरेको थियो । यसमा चौधरी परिवारका सदस्यहरूसहित बाँसबारी छाला जुत्ता कम्पनीसमेत शेयरधनी थिए । तर, जग्गा लिँदा मिलेमतो भएको र तीन वर्षमा च्याम्पियन फुटवेयर बन्द गरी पूरै जग्गा कब्जा गरिएको दाबी छ । अरुणसँगै तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ गरिएको थियो । उनीहरूलाई काठमाडौं जिल्ला अदालतको आदेशमा हाजिरी जमानीमा रिहा गरिएको छ ।
गृहमन्त्री रवि लामिछानेले कारखानाको १० रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया सुरु गरेर विनोद चौधरीसहितलाई अनुसन्धान प्रक्रियामा ल्याउन सीआईबीलाई निर्देशन दिएका थिए । लामिछानेले सीआईबीलाई निर्देशन दिएको भोलिपल्ट सांसद चौधरीले प्रतिनिधिसभाको रोस्ट्रमबाट उक्त प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका थिए ।
बाँसबारी सम्झौतामा ५१ प्रतिशत शेयर करणदास चौधरी र परिवारको नाममा, २५ प्रतिशत बाँसबारी र २४ प्रतिशत सर्वसाधारणको शेयर रहने भनिएको थियो । सम्झौताअनुसार २७ कात्तिक २०४३ मा च्याम्पियन फुटवयेर कम्पनी दर्ता भएको थियो भने ५ भदौ २०४४ मा बाँसबारी छालाजुत्ताको ६ रोपनी जग्गा हस्तान्तरण भयो । थप ४ रोपनी जग्गा पनि च्याम्पियन फुटवेयरको नाममा गयो । च्याम्पियन फुटवेयरमा लुनकरणदास चौधरीको २१०० कित्ता शेयर थियो भने विनोद चौधरी, वसन्त चौधरी, अरुणकुमार चौधरी र महेशकुमार अग्रवालको समान २००र२०० कित्ता शेयर थियो । गंगा चौधरीको नाममा १०० कित्ता शेयर थियो । बाँसबारी छाला तथा जुत्ताको नाममा २ हजार कित्ता शेयर थियो ।
सम्झौता अनुसार सर्वसाधारणका लागि शेयर जारी नै भएन भने तीन/चार वर्ष जुत्ता उत्पादन गरेको च्याम्पियन फुटवेयर बन्द भयो । प्रजातन्त्र पुनर्स्थापनासँगै बाँसबारी छालाजुत्ता कारखाना निजीकरण गरेपछि च्याम्पियन फुटवेयरमा रहेको २ हजार कित्ता शेयर चौधरी समूहले आफ्नो बनायो । पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँगै सीआईबीले यसबारे अनुसन्धान थाल्यो । त्यसक्रममा १८ माघमा अरुण चौधरीसहित ३ जना पक्राउ परे । उनीहरु धरौटीमा छुटे, तर सीआईबीले अनुसन्धान चलिरहेको छ । त्यसक्रममा बुधबार मात्र वसन्त चौधरीलाई बोलाएर कागज गराइएको छ भने विनोद चौधरीबारे अनुसन्धान भइरहेको जानकारी सभामुखलाई दिइएको छ ।