साझा कथा । नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप–२०२६ तथा एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गतको खेल आज बहराइनसँग खेल्दैछ । बहराइनको राष्ट्रिय स्टेडियममा आज राति १२ः४५ बजे घरेलु टिमविरूद्ध नेपालले विश्वकप छनोट अन्तर्गत एसियाको दोस्रो चरणको छनोट खेल खेल्न लागेको हो ।
समूह ‘एच’ मा रहेको नेपालले ‘होम एन्ड अवे’का आधारमा हुने छनोटअन्तर्गत बिहीबारको यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा खेल्नुपर्ने थियो । तर, दशरथ रंगशालको मैदानको स्तर राम्रो नभएकोले नेपालले ‘होम म्याच’ बहराइनमै खेल्न लागेको हो । यस्तै, नेपालले चैत्र १३ गते ‘अवे’ म्याच पनि बहराइनमै खेल्नेछ । नेपालको सिनियर टोलीले पहिलो पटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपालले बिहीबार पहिलो खेल खेलेपछि मंगलबार बहराइनमै दोस्रो खेल खेल्नेछ । समूह ‘एच’मा रहेको नेपालले सुरुवाती दुई खेल गुमाइसकेको छ । नेपाल पहिलो खेलमा युएईसँग ४–० गोल र दोस्रो खेलमा यमनसँग २–० गोलले पराजित भएको थियो । नेपाल पहिलो चरणमा लाओसलाई पराजित गर्दै दोस्रो चरणमा पुगेको थियो ।
चार टिममध्ये शीर्ष दुई टिम एसिया कपमा छनोट हुनेछन् भने दुई टिम विश्वकपको तेस्रो चरणका लागि छानिनेछन् ।
नेपाली टोली
गोलकिपरः किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार–डिफेन्डरः अभिषेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई (सन्जित), सुमित श्रेष्ठ– मिडफिल्डरः भरत खवास, विशाल बस्नेत, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, उत्सव राई– फरवार्डः अन्जन विष्ट, दीनेश हेन्जन, हिसुब थपलिया, समिर तामाङ, सन्जिव विष्ट, जिलेस्पी जंग कार्की