तीन दिनमा ‘महाजात्रा’को कमाई ४ करोड २६ लाख

साझा कथा । गत शुक्रबारबाट नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आएको फिल्म ‘महाजात्रा’ले तीनमा चार करोड २६ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ ।

निर्माण कम्पनी षट्कोण आर्टस्का अनुसार फिल्मले आइतबारसम्ममा ४ करोड २६ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको बताइएको छ ।

निर्माण पक्षले पहिलो दिन १ करोड २३ लाख, दोस्रो दिन एक करोड ८२ लाख र तेस्रो दिन एक करोड २० लाख रुपैयाँको ग्रस कलेक्सन व्यापार गरेको जानकारी दिएको छ ।

निर्देशक तथा लेखक प्रदीप भट्टराईले फिल्ममार्फत दिईएको मनोरञ्जन र सन्देशलाई दर्शकले रुचाएको बताए । ‘हामी प्रदर्शनकै दिनदेखि हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छौँ । उहाँहरू मनोरञ्जनसँगै फिल्ममा उठान गरिएको राजनीतिक विषयसँग खुसी हुनुहुन्छ । फिल्म हेर्न हलसम्म परिवार नै आइरहनु भएको छ’, निर्देशक भट्टराईले भने ।

उनले हलमा फिल्म हेरेर निस्किदा दर्शकमा देखिएको खुसीलाई आफ्नो समूहको ठूलो सफलताको रूपमा लिएका छन्। चैत ९ गतेदेखि नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन भइरहेको फिल्म दर्शकको भिडभाड हलमा देखिएको छ ।

‘जात्रा’, ‘जात्रैजात्रा’ जस्ता चल्तीका फिल्म बनाएर चर्चामा आएका निर्देशक प्रदीप भट्टराई ‘महाजात्रा’ फिल्म अघिल्ला फिल्मकै पात्र र अघिल्ला फिल्ममा पात्रहरूले भोगेको सास्ती र अपराधकै कथाको नयाँ भर्सन हो, ‘महाजात्रा’ । राजनीतिमा अपराध र तस्करी कसरी घुसिरहेको छ र त्यसको मूल्य सामान्य पात्रहरूले कसरी चुकाउन बाध्य भइरहेका छन् भन्ने बुझन् ‘महाजात्रा’ काफी छ । निर्देशक भट्टराईले अघिल्ला दुई फिल्म निर्माणको अनुभवले फिल्म खारिएको बताएका छन् ।

फिल्ममा हरिवंश आचार्य, विपिन कार्की रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?