साझा कथा । बूढापाकाहरू भन्ने गर्छन् ‘नमरी स्वर्ग देखिँदैन ।’ जुन ठाउँको वर्णन गरिएको छ त्यो ठाउँमा नगइकन त्यहाँको वातावरण, दृश्य, दुःख, सुख बुझ्न सकिँदैन । स्वर्गीय आनन्द लिने त ज्यूँदै छँदा हो, साँच्ची नै नारायणस्थान डाँडामा पुग्ने जो कोहीले पनि प्रकृतिको स्वर्गीय आनन्द भने अवश्य लिने छन् । यहाँ घुम्न आउने पर्यटकका लागि प्राकृतिक सुन्दरताको वर्णन गर्ने शब्द पाउनै गाह्रो पर्छ ।
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ मा पर्ने ‘बेथानचोक नारायणस्थान मन्दिर’ धार्मिक र पर्यटकीय दुवै दृष्टिकोणले प्रसिद्ध गन्तव्यस्थल बन्दै गएको छ । बेथानचोक नारायणस्थान मन्दिर समुद्री सतहदेखि ३०१८ मिटर उचाइमा अवस्थित छ । उक्त मन्दिर महाभारत पर्वत शृङ्खलामध्ये काभ्रेको सबैभन्दा अग्लो र शृङ्खलाभरमा चौधौँ अग्लो शृङ्खलामा रहेको छ । जिल्लाकै सबैभन्दा अग्लो स्थानमा रहेका कारणले पनि यो डाँडा अहिले निकै चर्चामा छ । पहिला पहिला नयाँ वर्षमा गोरेटो बाटो हिँडेर भक्तजन नारायणस्थान मन्दिरमा जाने गर्थे भने हाल उक्त मन्दिरसम्म पुग्ने पदयात्राका लागि रेलिङसहितको राम्रो बाटो व्यवस्था भएकाले सहजै आउन जान सकिन्छ ।
भक्तपुरका मल्ल राजाको पालामा आफ्नो राज्यमा सङ्कट उत्पन्न भएपछि भगवान् नारायणलाई सम्झँदा भगवान् नारायणले आफू भक्तपुरबाट दक्षिणतर्फको सबैभन्दा अग्लो स्थानमा विराजमान भएको सन्देश दिएपछि मल्ल राजा भगवान् नारायणको खोजी गर्दै आउने क्रममा यसै स्थानमा विराजमान भएको पाएपछि यस स्थानको नाम बेथानचोक नारायणस्थान रहन गएको किंवदन्ती छ । काठमाडौँ टुँडिखेलस्थित महाङ्काल मन्दिरमा रहेका देवता पनि सोही मन्दिरबाट ल्याइएको तर पटकपटक फर्केर जाने गरेकाले सिक्रीले बाँधेर राखिएको किम्बदन्ती छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्रबिन्दुका रूपमा रहेको बेथानचोक नारायणस्थान मन्दिरमा नयाँ वर्ष, जनैपूर्णिमा, फागुपूर्णिमामा विशेष मेला लाग्ने गर्दछ ।
मल्ल राजाको पालामा नारायण भगवान भक्तपुरको कोलाहल मन नपरेर बेथानचोकमा प्रतिस्थापित भएको किंवदन्ती रहेको बेथानचोक–३ का स्थानीय बासिन्दा तथा समाजसेवी रमेशप्रसाद तिमिल्सिनाले बताए । उनका अनुसार गोकुल नाम गरेका एक व्यक्ति स्याउला काट्न जाँदा भिरबाट खसेको र खोज्दै जाँदा उनको शव खोल्सामा भेटिएका कारण नारायणस्थान जाने बाटोमा पर्ने भिरको नाम गोकुले भिर छ ।
उनले बेथानचोक नारायणस्थान क्षेत्रमा छ प्रकारका लालीगुराँस, लोपोन्मुख प्रजातिका जनावर, चराचुरुङ्गी तथा लौठसल्ला, ठिङ्ग्रेसल्ला, सुगन्धवाल, चिराइतो, कुरिलो, जेठीमधु आदि जडिबुटी पाइने बताए । तिमिल्सनाले यहाँ घुम्न आउने पर्यटकसँगै आफू पनि डाँडामा जाने र बाटोमा पर्ने विभिन्न स्थानको जानकारी गराउँदै नारायणस्थान मन्दिर दर्शनका साथसाथै हिमालका मनमोहक दृश्य, तराईको समथर भूभाग र जिल्लाका विभिन्न स्थानको दृश्य देखाउँदै र वर्णन गर्दै पर्यटककोलाई सहयोग गर्दै आएका छन् ।
बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बेथानचोक गाउँपालिकाको पूर्वाधार विकासको कामलाई नै आफूले पहिलो प्राथमिकतामा राखेको बताए । बेथानचोक घुम्न आउने पर्यटकले उचित सडकको निर्माण नहुँदा दुःख पाएकोदेखि आफू निर्वाचित हुने बित्तिकै पहिलो प्राथमिकतामा सडक निर्माण नै राखेको बताए । बेथानचोक नारायणस्थान मन्दिरमा घेराबारसहित सडक व्यवस्थित गर्नका लागि ढुङ्गा बिच्छ्याउने काम भइसकेको र थप काम पनि द्रुतगतिमा भइरहेको जानकारी दिए । सङ्घ सरकारको समपूरक कार्यक्रममा पनि बेथानचोक नारायणस्थान मन्दिरको पूर्वाधार विकासका लागि कार्यक्रम रहेको अधिकारीले बताए । अध्यक्ष अधिकारीले काभ्रेको बेथानचोक गाउँपालिकाले नारायणस्थान मन्दिरलाई धार्मिक एवं पर्यटकीयस्थल बनाउनका लागि दीर्घकालीन योजना बनाई पूर्वाधार विकासको कामलाई पहिलो प्राथमिकतामा राखेको बताए । पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो दिन प्रतिदिन बढ्दै गएको छ ।
पर्यटकलाई बस्ने ठाउँको व्यवस्था, फोहर व्यवस्थापन, पर्यटकको विवरण सङ्कलन, स्वदेशी तथा विदेशी पर्यटकमा वृद्धि, पानीको व्यवस्थापन, वनभोज गर्ने ठाउँको व्यवस्थापन गर्न सके यो ठाउँ साँच्चै नै भविष्यमा ‘पर्यटकीय हव’ बन्ने निश्चतप्रायः छ । ढकमक्क फुलेका लालीगुराँस, हिमाल, पहाड र तराईका मनोरम प्राकृतिक दृश्य एकैपटक अवलोकनसँगै भगवान नारायणको दर्शन गर्न पाइने भएकाले पनि यहाँ एकपटक अवश्य पुग्नैपर्ने देखिन्छ ।
कसरी पुग्ने त नारायणस्थान डाँडाः
भूगोलको हिसाबले पनि निकै अग्लो स्थानमा रहेको यो मन्दिर राजधानी काठमाडौँदेखि ४५ किलोमिटरको दूरी पार गरेपछि पुगिन्छ । काठमाडौँदेखि ढुङ्खर्कसम्म बसमा सजिलै जान सकिन्छ । बेथानचोक गाउँपालिकाको ढुङ्खर्क बजारबाट करिब तीन घन्टा हिँडेरै नारायणस्थान मन्दिरमा पुग्न सकिन्छ । आफ्नै साधन हुनेहरू भने देउराली चौरमा साधन राखी करिब ४५ मिनेट पैदल हिँडेपछि सो डाँडामा पुग्न सक्छन् ।
बेथानचोक गाउँपालिकाको ढुङ्खर्कबाट पैदल हिँडेर तीन घन्टामा पुग्न सकिने नारायणस्थान डाँडाले भविष्यमा राम्रै पर्यटकीय गन्तव्य बन्ने सम्भावना बोकेको छ । वरिपरि स्टिलको बारले घेरी बीचबीचमा उभिएर दृश्यावलोकन गर्न सकिने बनाइएको यस ठाउँमा उभिएर हेर्दा वारिपारि छर्लङ्ग देखिने चट्टाने ढुङ्गा, कुनै सुगाको ठोँड जस्तो देखिने, कुनै पर्वत जस्तो देखिने तलतिर गाउँ बस्ती हेरिरहुँ जस्तो देखिन्छ । नारायणस्थान डाँडाबाट नजिकै देखिने सूर्योदय र सूर्यास्त दृश्यावलोकन गर्न पाइने हुनाले पनि आन्तरिक पर्यटक विशेषगरी रात बस्ने गरी जाने गरेको पनि स्थानीय बासिन्दा बताउँछन् ।
मन्दिर जाने बाटोमा विभिन्न प्रकारका लालीगुराँसले स्वागत गरेको पाइन्छ । मन्दिरको दर्शन गर्नाले मनले चिताएको पूरा हुने जनविश्वास छ । यो मन्दिरमा विशेष गरी फागुपूर्णिमामा ठूलो मेला लाग्ने गर्छ । उक्त मन्दिरमा जङ्गलै जङ्गलको बाटो हुँदै माथि डाँडोमा जानुपर्छ । छिनमै ड्याम्म तुवाँलेले ढाक्ने र छिनमै तुवाँलो हटेर छर्लङ्ग वारिपारि तलमाथिका रमणीय वनपाखा, बाटैभरि ढकमक्क फूलेका लालीगुराँस देख्दा त्यहाँ पुग्ने जो कोहीको पनि मन नलोभिने कुरै भएन