साझा कथा । घरेलु मैदानमा भएको दोस्रो अभ्यास खेलमा नेपालले आयरल्यान्ड ‘ए’लाई ७१ रनको फराकिलो अन्तरले हराएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर आयरल्यान्ड ‘ए’लाई बलिङको निम्तो दिएको नेपालले सबै ओभर खेलेर ७ विकेट गुमाएर १ सय ९८ रनको लक्ष्य दिएको थियो । जसमा आयरल्यान्ड ‘ए’ले १८ दशमलव ३ ओभरमा १ सय २७ रन बनाउदैँ सबै विकेट गुमाएर सोखेलमा पराजित भएको हो ।
यसअघि सोमबार खेलिएको पहिलो खेलमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले पराजित गरेको थियो । ब्याटीङमा नेपालका लागि गुल्सन झाले सार्बधिक ४६ रन जोडे । उनले ३२ बलमा १ चौका र ४ छक्का प्रहार गरे । आक्रामक ब्याटिङ गरेका कुशल मल्लले ३४ रन, कप्तान रोहितकुमार पौडेलले ३३ रन, ओपनर कुशल भुर्तेलले २५ रन, अनिलकुमार साहले १२ रन, सन्दीप जोराले २१,आसिफ शेखले ११ रन र नटआउट रहदै विवेक यादवले ७ रन बनाए ।
बलिङमा नेपालले आयरल्यान्डको अन्तिम तीन विकेट तीन बलमा लिएको थियो । सोमपालले १९औं ओभरको पहिलो बलमा म्याकार्थीलाई १ रनमा बोल्ड गरे। दोस्रो बलमा बेन ह्वाइटलाई शून्यमा क्याच गरे । यस्तै तेस्रो बलमा गेरेथ डिनेलीलाई कप्तान रोहितले १५ रनमा रनआउट गरे ।
बलिङमा नेपालका कुशल मल्ल र सोमपाल कामीले समान ३/३ विकेट लिए । करण केसी, कुशल भुर्तेल र विवेक यादवले १/१ विकेट हात पारे ।
आइसिसी टी-२० विश्वकपको तयारीस्वरुप नेपालले आयरल्याण्ड ‘ए’सँग उक्त अभ्यास खेल खेलेको हो । आयरल्यान्डसँग दुई वटा टी-२० खेल खेलेसँगै नेपाली टिम यसैसाता भारत जानेछ भने नेपालको ‘ए’ टिम र आयरल्यान्ड ‘ए’ बीच बिहीबारदेखि तीन टी-२० र तीन एकदिवसीय खेलको सिरिज सुरु हुनेछ ।