साझा कथा । धानको मूल्यमा वृद्धि भएसँगै चैते धानखेतीस्तर्फ किसानहरु आकर्षित भएका छन् । विगतको तुलनामा यो वर्ष धानको मूल्यमा प्रतिक्विन्टलएक हजारले वृद्धि भएपछि झापाका किसान चैते धानखेतीतर्फ आकर्षित भएका हुन् ।
जिल्लामा विगतमा तीन हजार २५० प्रतिक्विन्टल मूल्य कायम भएको धान हाल चार हजार २५० रुपैयाँ प्रतिक्विन्टल रहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले जानकारी दिए । सूचना अधिकारी भण्डारीका अनुसार उत्पादन राम्रो हुने भएपछि चैते धानखेती गर्ने किसान बढेका हुन् । जिल्लामा आर्थिक वर्ष २०७९/८० मा १९ हजार ८५० हेक्टर क्षेत्रफलमा चैत धान लगाइएकामा यो वर्ष बढ्ने केन्द्रले जनाएको छ । कन्काई नहरबाट सिञ्चित क्षेत्रमा केन्द्रले किसानलाई प्रविधि प्रदर्शनीको व्यवस्था गरेसँगै चैते धानप्रति किसानको आकर्षण बढेको हो ।
कन्काई सिँचाइ आयोजना क्षेत्रमा उन्नत कृषि प्रविधि प्रदर्शन र धानखेतीमा प्रयोग हुने आधुनिक मेसिनरीबारे दुईवटा कार्यक्रम सञ्चालन गरिएको थियो । शिवसताक्षी नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिका गरी चारवटा स्थानीय तहमा सो कार्यक्रम लागू भएको छ । ‘विगतमा ४० देखि ५० केजी धानको बीउ लाग्ने ठाउँमा प्रविधिको प्रयोग गर्दा अहिले २० केजी बीउले पुग्यो’, सूचना अधिकारी भण्डारीले भने, ‘एकातिर बीउमा खर्च घट्यो अर्कातर्फ मेसिनको प्रयोगले समय र श्रमिकको लागत पनि कम भयो । यसको प्रत्यक्ष लाभ किसानले पाउँछन् ।’
कृषि मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० झापामा बर्खाको समयमा ८७ हजार ५०० हेक्टर क्षेत्रफलमा धानखेती भएको थियो। कृषि ज्ञान केन्द्रका अनुसार आव २०७९/८० मा झापा जिल्ला चैते धान १९ हजार ८५० हेक्टर क्षेत्रफलमा लगाइएकोमा एक लाख चार हजार १४ मेट्रिक टन उत्पादन भएको थियो ।