साझा कथा । हामी जापानको राजधानी टोकियोको मध्यसहरमा अवस्थित एभरेष्ट इन्टरनेसनल विद्यालयमा पुग्दा प्राङ्गणमा सूर्यचन्द्र अङ्कित नेपाली झण्डा फहराइरहेको थियो । विद्यार्थीहरु ‘माथिमाथि शैलुङ्गेमा चौरी डुलाउनेलाई‘’ बोलको नेपाली मौलिक गीतमा नृत्यको अभ्यास गर्दै थिए ।
नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)का अध्यक्षसहितको टोली विद्यालय परिसर पुग्दा दैनिक कक्षा प्रारम्भ भइसकेको थियो । विद्यालयमा नेपालीसहित जापानी र अन्य देशका विद्यार्थीहरु नेपाली राष्ट्रिय गान ‘सयौं थुँगा फूलका हामी एउटै माला नेपाली’ सम्मानपूर्वक उच्चारण गरिरहेका थिए। नेपालको राष्ट्रिय गान र मौलिक गीतले गुञ्जायमान सो वातावरणले टोकियोको व्यस्त सहरमा सानो नेपाल महसुस गर्न सकिन्थ्यो ।
एभरेष्ट इन्टरनेसनल स्कुल नेपालबाहिर नेपाली पाठ्यक्रम र परीक्षा प्रणालीका आधारमा सञ्चालन हुने एक मात्र विद्यालय हो । स्थापनाकालमा १६ जना विद्यार्थीबाट सुरु भएको यस विद्यालयमा हाल नर्सरीदेखि कक्षा १२ सम्म चार सय ५० विद्यार्थी अध्ययनरत छन् । सो विद्यालयले शिक्षामार्फत नेपालीपन, नेपाली मन, भूगोल, संस्कार र संस्कृति तथा भेषभुषा, रहनसहन, गीतसङ्गीत अन्तर्राष्ट्रिय समुदायमा पुर्याउने काम गर्दै आएको छ ।
जापानमा रहेका नेपाली समुदायको पहलमा सन् २०१३ मा सुरु भएको विद्यालयले विद्यार्थीहरुलाई हालसम्म तीन पटक माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा एक पटक कक्षा १२ को परीक्षामा सामेल गराइसकेको छ । ती सबै परीक्षामा विद्यार्थीहरुले अब्बल नतिजा निकालेका छन् ।
देशबाहिर रहेका नेपालीलाई शिक्षाको माध्यमबाट आफ्नो देशसँग जोड्न सकिने छ भने विद्यालयमा पढने विद्यार्थीका नाताले अरु देशका नागरिकलाई नेपाल राष्ट्र, कला र संस्कृतिबारे जानकारी दिलाउन महत्वपूर्ण अवसर मिल्नेछ ।
एभरेष्ट इन्टरनेसनल विद्यालयका संस्थापक अध्यक्ष भुपालमान श्रेष्ठ नेपाल र जापानको शिक्षण पद्धतिमा केही फरक देख्छन् । उनका शब्दमा नेपालका विद्यालयमा पढाउने शैली छ भने जापानमा सिकाउने शैली छ ।
‘नेपालको शिक्षा पद्धतिमा पढाइन्छ मात्रै । एकोहोरो पढाएर सिकाइ प्रभावकारी हुँदैन । जापानको शिक्षा पद्धति भने अलिक फरक छ – यहाँ सिकाइन्छ । वास्तवमा पढाइ र सिकाइबीचको भिन्नता ठूलो छ । हामीले यो अन्तर बुझ्न जरुरी छ । नेपालको शिक्षण पद्धतिमा सिकाइ सुरु गर्नुपर्छ’, उनले भने ।
अध्ययनमा सिकाइ प्रभावकारी भएन भने जीवनमा लागू गर्न गाह्रो हुन्छ । सिकेको कुरा पढेको कुराभन्दा लामो समयसम्म स्मरण भइरहन्छ । जापानमा घर र शिशु कक्षामा सिकाइ भनेको अनुशासन पनि मानिन्छ ।
उनी भन्छन् ‘सिकाइ नभएको पढाइको अर्थ छैन । जापानमा बच्चालाई घर वा नर्सरी कक्षा होस सिकाउने पहिलो विषय अनुशासन हो । मैले अरुलाई नकारात्मक असर पुर्याउने कुनै काम गर्नु हुन्न भन्ने सिकाइ पहिलो हो ।’
नेपालमा भ्रष्टाचार लामो समयदेखि समस्याका रुपमा छ । भ्रष्टाचारले राष्ट्र र समाजलाई हानी पुर्याउँछ त्यसमा संलग्न हुन हुँदैन भन्ने ज्ञान पनि विद्यालय तहमै सिकाइने उनले सुनाए । त्यति मात्र होइन, तपाईंले कसैलाई झुक्किएर ठक्कर दिए पनि ठक्कर खाने व्यक्तिले कतै मैले नै त गल्ती गरेको होइन भनेर माफी माग्ने संस्कार पनि छ ।
‘नेपालमा अहिले धेरै समयपछि विद्यालय शिक्षासम्बन्धी नयाँ कानुन बन्न लागेको छ । त्यस ऐनमा अनुशासन र कर्तव्यका विषयलाई समेट्नुपर्छ । कसैले अर्कोलाई नराम्रो हुने काम नगरिदिए समाज राम्रो हुन समय लाग्दैन । त्यो खाले शिक्षा बालबालिकालाई सिकाउनुपर्छ’, उनले भने ।
अनुशासनले गल्ती र हारलाई सहजरुपमा स्वीकार्य बनाउने भन्दै उनले कानुन र संस्कार छुट्याउन कठिन हुने धारणा राखे । त्यसखालको संस्कार हाम्रो देश नेपालमा पनि उत्तिकै आवश्यकता रहेको उनले भने ।
बाह्र वर्षअघि जापानमा नेपाली नागरिक अध्ययनका अतिरिक्त विभिन्न पेशा व्यवसायसँग जोडिएर पुग्ने क्रम देखिएपछि सन्तानको शिक्षाका लागि परिवार छोड्न नपरोस् भनी गैरनाफामूलक संस्थाकारुपमा त्यहाँको नेपाली समाजको अगुवाईमा विद्यालय स्थापना गरिएको थियो ।
विद्यालयको अध्यक्षमा गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष भवन भट्ट छन् । उक्त विद्यालयलाई जापानको शिक्षा मन्त्रालयले अन्तर्राष्ट्रिय विद्यालयको मान्यता प्रदान गरेको छ ।
जापानमा विद्यालय सञ्चालन गर्न त्यहाँको सम्पूर्ण नीति नियमको कडाइका साथ पालना गर्नुपर्छ । त्यो सबै पालना गरेकै कारण जापानी समुदायबीचमा पनि विद्यालय आकर्षणको केन्द्र बन्दै आएको छ । हाल उक्त विद्यालयका ६१ मध्ये नौ जना जापानी शिक्षक तथा कर्मचारी छन् भने छ जना जापानी विद्यार्थी अध्ययनरत रहेको विद्यालयका भाइस प्रिन्सिपल राजेन्द्र तामाङले जानकारी दिए । उनका अनुसार विद्यालयमा दुई घण्टा टाढादेखि रेल चढेर आउने विद्यार्थीको सङ्ख्या उल्लेख्य छ ।
टोकियोमा रहेका अन्य विद्यालयको तुलनामा सुलभ शुल्कमा गुणस्तरीय शिक्षा भएकै कारण विद्यालयमा विद्यार्थी भर्ना चाप चुनौतीपूर्ण रहेको विद्यालय सञ्चालक समितिका उपाध्यक्ष मेघराज नेपाल बताउँछन् ।
विद्यार्थीको चाप र भौतिक पूर्वाधारका कारण नर्सरी कक्षा एक ठाँउमा छ भने १ देखि ३ सम्मका कक्षा बेग्लै ठाउँमा पढाइ हुन्छ । उक्त विद्यालयमा भर्नाका लागि हालको भन्दा दोब्बर विद्यार्थीका लागि माग रहेको उनले बताए ।
टोकियोमा धेरै नेपालीहरुको पेशा व्यवसाय भएकाले अनयन्त्र सारिएको खण्डमा उनीहरुलाई मर्का पर्ने सञ्चालकको बुझाइ छ । अध्ययनसहित विभिन्न पेशा व्यवसाय गरी हाल जापानमा एक लाख ६३ हजारभन्दा बढी सङ्ख्यामा नेपाली बस्दै आएका छन् । जापानमा विद्यार्थीलाई होस्टेलमा राख्न नमिल्ने व्यवस्था छ । नेपालमा जस्तो विद्यार्थीको क्षमता र नतिजा हेरेर विद्यार्थी भर्ना गर्ने सुविधा पनि छैन । तोकिएको समयमा जो आयो उसले भर्ना पाउँछ ।
त्यसो त सन् १९०२ मै राणाकालीन समयमै आठ जना नेपाली विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न भान्सेसहितको व्यवस्थामा जापान पठाइएको थियो । जापान नेपालको विकासको ठूलो सहयोगी र साझेदार मुलुक हो । पछिल्लो समय जापानी समाजमा नेपाली नागरिकले बनाएको परिचय, पहिचान र प्रतिष्ठा उदाहरणीय र आदरणीय रहेको दूतावासको ठम्याइ छ ।