नेपालमा अन्तर्राष्ट्रिय स्तरको पारा थ्रो बल प्रतियोगिता सम्पन्न

साझा कथा । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको पारा थ्रो बल प्रतियोगिता सम्पन्न भएको छ । पारा थ्रो बल समाज नेपालले आयोजना गरेको एक दिवसीय प्रतियोगितामा नेपाल र भारतका खेलाडीहरु बीच प्रतिस्पर्धा भएको थियो ।

काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ७ मा रहेको कभर्ड हलमा सञ्चालित प्रतियोगितामा पुरुष र महिला गरि जम्मा ६ टिमको सहभागिता रहेको थियो । जसमा पुरुषतर्फ नेपाल र भारतको २/२ टिम तथा महिलातर्फ १/१ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा पुरुषतर्फ नेपालले जित हासिल गरेको थियो भने महिला तर्फ भारत विजयी भएको थियो । पुरुषतर्फको तीन सेटमा नेपाल २२-१५, १७-२२ र २२-१० ले विजयी भएको थियो भने महिलातर्फ खेलाइएको एक सेटमा भारत २२-१९ ले विजयी भएको थियो ।

विजयी खेलाडीहरुलाई कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की र नेपाल पारा थ्रो बल समाजका सल्लाहकार तथा पारा ओलम्पियन विक्रमबहादुर रानाले प्रमाणपत्र तथा मेडल हस्तान्तरण गर्नु भएको थियो ।

ठूलो मेहनत पछि अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सम्पन्न गर्न सकेकोमा नेपाल पारा थ्रो बल समाजका अध्यक्ष मैया विशुंखेले खुशी व्यक्त गरिन् । उनले अपांगता भएकाहरुले पनि अवसर पायो अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता खेल्न सक्ने बताइन् । जसका लागि राज्यले उनीहरुलाई अवसर र अवाश्यक पूर्वाधार निर्माणमा जोड दिनु पर्ने बताइन् ।

प्रमुख अतिथिको रुपमा रहेका कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले स्थानीय सरकारले पनि खेललाई प्राथमिकतामा राखेको बताउँदै यस्ता कार्यक्रम आफ्नै क्षेत्रमा सञ्चालन गर्न पाउँदा खुशी लागेको बताए । त्यस्तै, नेपाल पारा थ्रो बल समाजका सल्लाहकार तथा पारा ओलम्पियन विक्रमबहादुर रानाले यस किसिमको कार्यक्रम पहिलो पटक नेपालमा हुनु आफैमा सुखद् रहेको भन्दै यसलाई निरन्तरता दिनु पर्नेमा जोड दिए ।

इन्डियन पारा थ्रो बल महासंघका अध्यक्ष डा. अल्बर्ट प्रेमकुमारले भने यस किसिमको कार्यक्रम नेपालले आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्दै आगामी कार्यक्रम छिट्टै भारतमा आयोजना गर्ने प्रतिबद्धता समेत जनाए । समापन कार्यक्रममा प्रतियोगिताका लागि सहयोग उपलब्ध गराउने ईसेवा, पारा थ्रो प्रशिक्षक तथा अम्पायर रवि श्रेष्ठ, सामाजिक व्यक्तित्व तथा सञ्चारकर्मीहरुलाई सम्मान गरिएको थियो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?