आयरल्याण्ड ‘ए’माथि नेपाल ‘ए’को शानदार जित

साझा कथा । घरेलु मैदानमा भएको अन्तिम(तेस्रो)अभ्यास खेलमा नेपाल ‘ए’ले आयरल्याण्ड ‘ए’ लाई ३ रनले हराएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २१४ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको आयरल्याण्ड ‘ए’ ले सबै ओभर खेल्दै ७ विकेटको क्षतीमा २१० रन मात्र जोड्न सफल भयो ।

नेपालका लागि विपीन खत्रीले सार्बाधिक ३ विकेट लिए । यस्तै कमलसिंह ऐरी, नारायण जोशी र रासिद खानले सामान १–१ विकेट लिए । एक विकेट भने रनआउटबाट प्राप्त भएको थियो ।

आयरल्यान्डका लागि ग्रेथ डेलनीले सर्वाधिक ६८ रन बनाउँदा मोर्गन टोपिङले ६० रन बनाए । फियोन हान्डले २२ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि ठूलो स्कोर बनाउने क्रममा आरिफ शेखले ९३ रनको नटआउट पारी खेले । जम्मा ४८ बलको सामना गरेका उनले ७ चौका र ६ छक्का हिर्काए ।

यस्तै रासिद खानले २४ रन, कमलसिंह ऐरीले नटआउट रहदै १९ रन, ओपनर लोकेश बमले ८ रन, देव खनालले ६ रन, कप्तान विनोद भण्डारीले ११ रन, बसिर अहमदले १९ रन र नारायण जोशी १ रन जोड्दै रनआउट भएका थिए ।

प्रतियोगिताको सिरिज भने आयरल्यान्डले जितेको छ । पहिला दुई खेल जित्दै सिरिज आफ्नो हातमा पारेको हो । तर तीनवटै खेल जितेर क्लीन स्वीप गर्ने योजना भने सफल हुन सकेन । नेपालले पहिलो खेल २१ रन र दोस्रो खेल ४० रनले हारेको थियो । तर यी तीनवटै खेलमा लक्ष्य २ सय भन्दा माथि नै रहे ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?