साझा कथा । विवादमा फसिरहेको नागरिक उन्मुक्ति पार्टीका नेताहरुले पार्टीका संस्थापक रेशमलाल चौधरीले आफूहरुलाई ज्यान मार्ने धम्की दिएको खुलासा गरेका छन् ।
सोमबार रिपोर्टस क्लबको पत्रकार सम्मेलनमा बाल्दै नाउपाका संस्थापक केन्द्रीय सदस्य रमेश बिकले आफूलाई नेता रेशम चौधरीले आइतबार एउटा छलफलमा आफूलाई हत्या पनि हुन सक्छ भनेर धम्की दिएको बताएका हुन् ।
‘हिजो हामी रेशम दाइलाई पार्टी कार्यालयमा भेट्न जाँदा त्यो मिटिङमा टीकापुर नगरपालिकाका मेयर साब, वडा नं ४ का वडाध्यक्ष, वडा नं ५ का वडाध्यक्ष संयुक्त रुपमा बसेका थियौं । उहाँले सिधै के भन्नुभयो भने यदि सुदूरपश्चिममा कमलबहादुर शाहको सरकार ढल्यो भने तिमी चारै जनाको हत्या पनि हुन सक्छ भनेको हुनाले आज ममाथि भौतिक आक्रमण हुँदा म असुरक्षित छु भन्ने महसुस भयो’ बिकले भने
सोमबार अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा संस्थापक केन्द्रीय सदस्यहरुको बैठक सुरु हुनुअघि आफूमाथि रेशम चौधरीसँगै आएका व्यक्तिहरुले कुटपिट गरेको बिकले बताए । आइतबार ज्यान मार्ने धम्की दिएको र सोमबार आफूहरुमाथि आक्रमण हुनुले असुरक्षा बढेको नेता बिकले बताए ।
नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनमा सहभागिताको विषयमा छलफल गर्न तीन सदस्यीय वार्ता टोली बनाएको छ । वार्ता टोलीमा नेता दामोदर पण्डित, रमेश बिक पनि छन् । उनीहरुले सरकारमा सहभागिताका विषयमा छलफल गर्न बालुवाटार जाने भनेका थिए । तर बालुवाटार गएमा बालुवाटारबाहिरै पिट्ने धम्की पनि दिएको बिकले बताएका थिए । साथै विकले भने सुदूरपश्चिममा कमलबहादुर शाहको सरकार ढल्यो भने तिमी चारै जना (आइतबार रेशमलाई भेट्न जानेहरू) को हत्या समेत हुन सक्ने भनेर रेशम चौधरीले भनेको बताए । यद्यपि चौधरीले माफी समेत मागेको उनको भनाइ छ ।
यता रेशमलाल चौधरीले आज (सोमबार) आकस्मिक पत्रकार सम्मेलन गर्दै आफूलाई आत्महत्या गर्ने परिस्थितिमा पुर्याइएको बताएका छन् । उनले आफूले पार्टीको किचलोले तीन महिनादेखि खानासमेत नराखएको बताए । केन्द्रीय समितिले गरेको निर्णयसमेत पार्टीका केही मानिसहरुले नमान्दा अहिलेको परिस्थिति सिर्जना भएको उनको बुझाइ छ ।
‘मलाई पनि अचम्म लाग्छ । विरुवा मैले रोपेँ । मलाईँ थाहा छ, यो विरुवा कुन जातको हो । आँपको हो कि, स्याउको हो कि ओखरको हो कि । तीन महिनादेखि मैले खाना खाएको छैन । आत्महत्या गर्ने परिस्थितिसम्म पुर्याइसके । केन्द्रीय समितिको निर्णय मान्दैनौं भन्छन् । अर्काको सञ्चालनमा हामी नचलौं, हाम्रो निर्णय गरौं भन्दा किन नमान्ने त ? ’– उनले भने । पार्टीमा पदीय लोलुपता धेरै भएको उनको बुझाइ छ । उनले आगामी चैत २३ र २४ गते केन्द्रीय समिति बैठक बस्ने बताए । उक्त बैठकले गलत गर्ने सबैलाई छानीछानी कारबाही गरेर पार्टी सुद्धीकरण गरिने बताए ।
‘पार्टीमा बाहिरबाट हस्तक्षेप भएर त यस्तो भएको छ । अहिलेको वर्तमान सरकारले चलाइरहेको छ र त यस्तो भइरहेको छ नि । जो त जगजाहेर कुरा छ । पार्टी नागरिक उन्मुक्ति पार्टी हो । अर्काको निर्णयमा हामी किन चल्ने उनले प्रश्न गरे ।
नागरिक उन्मुक्ति पार्टीमा पछिल्लो केही हप्ता रञ्जिता श्रेष्ठ र रेशम चौधरी पक्षबीच विवाद देखिँदै आएको छ । अध्यक्ष श्रेष्ठ संघदेखि प्रदेशसम्म एउटै गठबन्धनलाई साथ दिनुपर्ने पक्षमा छिन् । सोही अनुसार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिलाएकी छिन् । उनी सुदूरपश्चिम प्रदेशमा पनि कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ गठबन्धनलाई सघाउनुपर्ने पक्षमा छिन् ।
अर्कोतिर रेशम चौधरी भने संघमा कुनै गठबन्धनमा लाग्न नहुने र सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई नै साथ दिनुपर्ने पक्षमा छन् । सोही अनुसार उनले सरकारमा आफू निकटका मन्त्रीहरू पनि पठाएका छन् । ती मन्त्रीहरूलाई फिर्ता आउन र सरकारलाई दिएको समर्थन फिर्ता लिन अध्यक्ष श्रेष्ठले निर्देशन दिँदै आएकी छिन् ।
नागरिक उन्मुक्ति पार्टी गठन हुँदा संरक्षकमा रेशम चौधरी र अध्यक्षमा रञ्जिता श्रेष्ठ थिए । उनीहरू पती पत्नी समेत हुन् । पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई अध्यक्ष चयन गरेको थियो । नयाँ केन्द्रीय समिति पनि निर्वाचित गरेको थियो । त्यसको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगलाई निवेदन दिइएको थियो । तर आयोगले चौधरी अध्यक्ष हुन नसक्ने निर्णय गरेको थियो । जसकारण अहिले नाउपामा पुरानै केन्द्रीय समिति ब्युँतिएको छ । जसको अध्यक्ष रञ्जिता श्रेष्ठ हुन् । उनले सोही समितिको बैठक राखेर निर्णय गर्दै आएकी छिन् । पछिल्ला घटनाक्रममा नाउपाका नेताहरू पती/पत्नीबीचको व्यक्तित्वको संघर्षुको रुपमा चित्रित गर्छन् ।